Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ग्राहकको खाताबाट करोडौं ठगेर फरार प्रभुका कर्मचारीलाई सिइओ शेरचनकै संरक्षण !

    ग्राहकको खाताबाट करोडौं ठगेर फरार प्रभुका कर्मचारीलाई सिइओ शेरचनकै संरक्षण !

    प्रभु बैंकले कसरी पायो बैंक अफ द इयरको उपाधि ?

    अनलाइन नेपाल
  • बिहिबार, १७ साउन २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । सन् २०२३ को ‘बैंक अफ दि इयर’ उपाधि पाएको प्रभु बैंकले आफ्नै ग्राहकको खाताबाट करोडौं रकम ठगी गरेको पाइएको छ ।

    बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका दि बैंकरले प्रदान गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङ क्षेत्रमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।



    यस्तो प्रतिष्ठित अवार्ड जितेको बैंकले आफ्नै ग्राहकको खातामा रहेको १ करोड १० लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको छ ।



    झापाका टीकाराम नेपालले श्रीमती मञ्जुकुमारी नेपालको नाममा प्रभु बैंकको स्थानीय शाखामा जम्मा गरेको १ करोड १० लाख ४३ हजार रुपैयाँ खाताबाटै गायब भएपछि प्रभु बैंकको असली नियत बाहिर आएको हो ।

    नेपालले गत माघ ३ गते श्रीमतीको नाममा प्रभु बैंकमा १ करोड १० लाख ४३ हजार रुपैयाँ ‘फिक्स डिपोजिट’ गरेका थिए । ६ महिनाका लागि ‘फिक्स डिपोजिट’ राखेको रकमको समयावधि सकिएपछि मंगलबार रकम झिक्न बैंक पुगेका नेपाललाई बैंकले खातामा पैसा नै नभएको बताएपछि उनी छाँगाबाट खसेजस्तै भए ।

    खातामा रकम नभएको पाइएपछि प्रभु बैंकको असलियत बारे जानकारी गराउन टीकारामले बुधबार पत्रकार सम्मेलन नै आयोजना गरे । पत्रकार सम्मेलनमा उनले भने–‘पैसा झिक्न जाँदा खाताबाट सबै पैसा गायव थियो । किन र कसरी त्यत्रो रकम गायब भयो ? यसको जवाफदेही बैंक हुनुपर्छ ।’

    बैंकमा जम्मा भएको रकमको जिम्मेवारी बैंकका शाखा म्यानेजर गणेशबहादुर बरालले लिनुपर्ने हो । तर, बैंक भने मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको भन्दै पन्छिन खोजिरहेको छ ।

    यता, सिटौला भने बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । आफ्नो रकम गायब भएपछि नेपालले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् । जसमा बैंकका म्यानेजर बरालमाथि पनि अनुसन्धान गर्न माग गरिएको छ ।

    तर, झापा प्रहरीले अहिलेसम्म बराललाई पक्राउ गरेको छैन । किटानीसहित उजुरी परेका बैंकको म्यानेजर बराललाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा बैंकका सिइओ अशोक शेरचनले झापा प्रहरीलाई माथिबाट दबाब दिन लगाई पक्राउ गर्न दिएका छैनन् ।

    यो ठगी मुद्दा भएकाले प्रहरीले जाहेरी परेका ठगीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा उल्टै अशोक शेरचनको निर्देशनमा  बैंकले केन्द्रबाट छानविन टोली पठाएर अनुसन्धानलाई नै प्रभावित पार्न खोजिएको छ ।

    झापा शाखाका म्यानेजर बराल सिइओ शेरचन निकट कर्मचारी हुन् भने बरालसँग मार्केटिङ म्यानेजर रहेका प्रमोद सिटौलाले सेटिङमा काम गर्दै आइरहेका थिए ।

    स्रोतका अनुसार सिटौला फसेको खण्डमा बराल पनि तानिने भएपछि सिटौलालाई रहस्यमय रुपमा फरार बनाइएको छ । शाखा प्रमुख बराललाई भने शेरचनले संरक्षण दिंदै आइरहेका छन् ।

    बैंकका म्यानेजर बराल भने गायब भएको रकमको जिम्मा आफूले लिनु त कता हो कता उल्टै सवा करोड गायब भएको घटना मुख्यालयमा जानकारी गराइएको र बिहीबार केन्द्रबाट छानबिन टोली आएर सत्यतथ्य विवरण बाहिर ल्याउने बताएर पन्छिन खोजिरहेका छन् ।

    हुनत प्रभु बैंकका लागि रकम अपचलन र दुरुपयोगका घटना नौला होइनन् ।

    तत्कालिन ग्राण्ड बैंकसँग मर्ज हुँदा २ अर्ब ९० करोड कर्जा नोक्सानी भएको विषय पनि प्रभु बैंकले लुकाउँदै आएको छ ।

    यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले गोप्य रुपमा अनुसन्धान गरिरहेको छ । सिआईबीले बैंकलाई जाहेरी दिन पटक–पटक आग्रह गर्दा पनि शेरचन आफै फस्ने कारण जाहेरि दिन मानिरहेका छैनन् ।

    तत्कालिन सिआईबी प्रमुख एआईजी धिरजप्रताप सिंहसँग मिलेर शेरचनले अनुसन्धानलाई नै ‘होल्ड’ गराएका थिए । तर, अहिलेका सिआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले भने अनुसन्धानलाई अगाडि बढाएका छन् ।

    यसअघि एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरी २०८० माघ २१ गतेबाट सम्पर्कविहिन भएका रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहलाई भारतमा पक्राउ गरी नेपाल ल्याइएको थियो ।

    त्यसैगरी २०८० फागुन १५ मा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    प्रभु बैंकमा यस्ता घटनाहरु बारम्बार दोरिरहँदा पनि सिइओ शेरचन कानमा तेल हालेर बसेका छन् ।

    हुनत कयौं अपचलनमा उनी आफै पनि नमुछिएका होइनन् । नक्कली कागजातको आधारमा जानकी मेडिकल कलेजलाई बैंकले करोडौ कर्जा दिएको प्रकरणमा सिइओ शेरचन नै मुछिएका थिए भने राष्ट्र बैंकबाट अनुसन्धान समेत भएको थियो । तर, शेरचन उक्त अनुसन्धानलाई नै रोक्न सफल भएका थिए ।

    केही बर्ष अघि जानकी मेडिकल कलेजका सञ्चालक बलराम गुप्ता सुन काण्डमा पक्राउ परेको बेला अध्यक्ष रहेका ओपी पाण्डेले प्रभु बैंकका सीइओ शेरचनसँगको मिलेमतोमा नक्कली विवरण पेश गरेर बैंकबाट कर्जा लिन सफल भएका थिए ।

    समस्याग्रस्त जानकी मेडिकल कलेजमा प्रभु बैंकका सीइओ शेरचनले जनताको डिपोजिटबाट जम्मा भएको बैंकबाट करोडौ कर्जा दिएर फाइदा लिएको भन्दै राष्ट्र बैंकमा उजुरी परेको थियो । तर, शेरचनमाथि राष्ट्र बैंकले अनुसन्धान नै गर्न सकेन ।

    प्रभु बैंकको ठगी प्रकरणबारे सिइओ शेरचनसँग प्रतिकृया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार