Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमसीसी अन्तर्गतको दमौली सबस्टेसन बनाउन भारतीय कम्पनीलाई ३.८८ करोडमा ठेक्का

    एमसीसी अन्तर्गतको दमौली सबस्टेसन बनाउन भारतीय कम्पनीलाई ३.८८ करोडमा ठेक्का

    अनलाइन नेपाल
  • बुधबार, १६ साउन २०८१
  • 408
    SHARES

    काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३ दशमलव ८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको घोषणा गरेको छ ।

    यो सम्झौतासँगसँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।



    निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग गत जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ । उक्त दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण सेतुका रूपमा काम गर्ने बताइएको छ ।



    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, एमसिए–नेपालका सञ्चालक समितिका सदस्यहरू, टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदमप्रकाश गुप्ता, नेपाल विद्युत् प्राधिकरण, एमसीसी र एमसिए–नेपालका अधिकारीको समुपस्थितिमा आज आयोजित एक समारोहमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री खड्काले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान गरे ।

    एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्नेछ ।

    अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन कार्य भइरहेको छ । एमसिए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै बाँकी २९७ किमी प्रसारण लाइन निर्माणका लागि यसैवर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार