काठमाडौं । चेन अफ कमाण्डको अनुशासन पालना नगर्ने प्रहरी अधिकृतविरुद्ध प्रहरी नेतृत्व कठोर बन्दै गएको छ ।
राजनीतिक पहुँचका आधारमा चलखेल गर्ने प्रहरी अधिकारीविरुद्ध प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले कारबाहीको तयारी थालेका छन् ।
त्यसै क्रममा विशेष ब्यूरोमा कार्यरत डीआईजी मनोज केसीलाई गत साता हटाइएको छ । उनीमाथि छानबिनको समेत तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
डीआईजी केसीले आईजीपी कुँवर अमेरिका रहेको मौका छोपी नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार बेचन झा र प्रतिक थापालाई भारतमा पक्राउ गरी नेपाल ल्याएका थिए । त्यस क्रममा निमित्त आईजीपीलाई समेत जानकारी गराइएको थिएन ।
डीआईजी केसी त्यसबेला कागजी रूपमा बिदा बसेका थिए । तर, प्रहरी नेतृत्वलाई जानकारी नदिई गोप्य रूपमा उनीहरूलाई पक्राउ गरेको स्रोत बताउँछ ।
पछि काठमाडौं परिसरले पक्राउ गरेको भनेर प्रचार गरिएको थियो । सोही कारण कारबाही स्वरूप केसीलाई प्रहरी एकेडेमी सरुवा गरिएको छ ।
नेताहरूको पछि लागेर चेन अफ कमाण्डको उल्लंघन गर्ने अन्य केही प्रहरी अधिकारीमाथि समेत छानबिन भइरहेको एक उच्च अधिकारीले बताए ।
प्रहरी महानिरीक्षक कुँवरको इमान्दारीताको फाइदा उठाउँदै केहीले संगठनलाई कमजोर बनाउने खेल खेलेपछि उनी कठोर बन्न थालेका हुन् । रवि लामिछाने गृहमन्त्री भएको बेला केही अधिकृतहरुले आईजीपी कुँवरलाई बाइपास गरी चलखेल गरेका थिए ।
अहिले पनि केपी ओली तथा शेरबहादुर देउवा निकट केही अधिकृतहरू सरुवा–बढुवाको अनावश्यक चलखेलमा लागिसकेका छन् । उनीहरूमाथि समेत निगरानी भइरहेको महानिरीक्षकको सचिवालयका एक अधिकारी बताउँछन् ।
Leave a Reply