खोटाङ । समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजनाको टोली खटाइएको हो ।
निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र बाँझेच्यानडाँडाका बासिन्दाले शान्ति, सुरक्षाको महसुस गरेका वडाध्यक्ष दिनेशकुमार कठेतले बताए ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भाजपुर सडकखण्डको पेलुङमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले उद्घाटन गरे ।
कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, वुद्धिजीवी, समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।
Leave a Reply