Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सिउँडी बचत सहकारीको ऋण असुली सुरु, हिसाबकिताबमा गडबडीको आरोप

    सिउँडी बचत सहकारीको ऋण असुली सुरु, हिसाबकिताबमा गडबडीको आरोप

    पूर्ण बहादुर साउँद
  • बुधबार, ९ साउन २०८१
  • 1.8K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका–१ स्थित श्री सिउँडी बचत तथा ऋण सहकारी संस्थाले ऋण असुली गर्न थालेको छ ।

    सहकारीमा लगानीकर्ताको ३६ लाखभन्दा बढी रुपैयाँ डुब्न लागेको विषय सार्वजनिक भएसँगै सहकारी ऋण असुलीले ऋण असुली प्रक्रिया थालेको हो ।



    साथै टोल टोलमा गएर सहकारीका कर्मचारी बचतकर्ताको रकमको हिसाबकिताब गर्न थालेका छन् । तर बचतकर्ताले आफूहरूको हिसाबकिताब गडबड भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।



    उनीहरू आफूहरूले बढी रकम पाउनु पर्ने तर पास बुकमा पनि कम रकम लेखिएको उनीहरूको आरोप छ । आइतबार र सोमबार सहकारीका कर्मचारी साबिकको वडा नम्बर ३ मा ऋण असुली र बचतकर्ताको रुपैयाँको हिसाबकिताब गर्न पुगेका थिए । तर त्यहाँ पुगेका कर्मचारीसँग बचतकर्ताहरूले आफूहरूले बचत गरेको रकमको व्याजसहित बढी पैसा पाउनु पर्ने अडान लिएका थिए ।

    त्यसपछि बचतकर्ताको हिसाब नगरी सरकारीका कर्मचारी फर्कन बाध्य भए । सहकारीमा आफूहरूले २ देखि १०० रुपैयाँसम्म जम्मा गरेको बचतकर्ता महिलाहरू बताउँछन् । आफूहरूले पहिला समूह हुँदा देखि जम्मा गरेको रकमको समेत हिसाब हुनुपर्ने उनीहरूको माग छ ।

    बचतकर्ता महिलाहरूले आफूहरू सहकारीका पुराना कर्मचारी र समूहका पुराना कर्मचारीसँग हिसाबकिताब माग्ने अडान लिएका छन् । साथै उनीहरूले आफूहरू सहकारीको कार्यालयमै उपस्थित भएर हिसाब माग्ने बताएका छन् ।

    यसभन्दा अगाडी रकम फिर्ता लिएका बचतकर्ताले बढी रकम पाएको तर सँगै बचत गरेका आफूहरूको रकम कम भएपछि उनीहरूले हिनामिनाको आशंका व्यक्त गरेका छन् । सहकारीका कर्मचारी अभिशेष विकले पनि बचतकर्तालाई सहकारीको कार्यालयमै आएर आफ्नो हिसाबकिताब लिन आग्रह गरेका छन् ।

    एक वृद्धा बचतकर्ताले भनिन्, “हामीले बचत गरेको धेरै वर्ष भयो । तर पछिल्लो केही वर्ष यता बचत गर्न पाएनौँ । सहकारी डुब्न लागेको भन्ने पनि थाहा भएन । तर अहिले सहकारीमा हामीले २ रुपैयाँदेखि जम्मा गरेको पैसा डुब्ने अवस्थामा पुग्यो । त्यो थाहा पाएपछि सहकारीमा ल्याउन जाँदा दिएनन् । अरूले बचतको पैसा ल्याइसकेका रहेछन् । हामीले माग्दा पनि त्यहाँका कर्मचारीले रिसाउँथे । आफ्ना नजिककालाई मात्रै फिर्ता गरेको रहेछ ।”

    यस्तै सहकारीका कर्मचारीले सोही टोलका ऋणीलाई रकम फिर्ता गर्न भने । कसैले म्याद दिएका छन् भने केहीले अझै अटेर गरेका छन् । यसरी साबिकका अन्य वडामा पनि यही विवाद छ । उनीहरूले आफूहरूको बचत हिनामिना गरिएको आशंका व्यक्त गरिरहेका छन् । यता सहकारीले सबै जनाको हिसाबकिताब मिल्ने दाबी गर्दै आएको छ ।

    यस्तै सहकारीले बचतकर्ताको रकम पनि फिर्ता गरिरहेको छ । तर जुन टोलबाट ऋण असुली हुन बाँकी छ । त्यहाँको बचतकर्तालाई भने रकम फिर्ता नदिने बताइएको छ ।

    यस्तै सहकारीले ऋण असुलीतर्फ पनि सक्रियता बढाएको छ । केही व्यक्तिबाट ऋण असुली भइसकेको दाबी गरिएको छ । यसरी ऋण लिएर पचाउन खोज्नेमा नेतादेखि कर्मचारीसम्म रहेका छन् ।

    स्रोतका अनुसार कर्मचारी, पूर्व जनप्रतिनिधि, हालका जनप्रतिनिधि र पार्टीको जिल्ला कमिटीसम्ममा रहेका नेताहरूको नाममा समेत ठुलो ऋण प्रवाह भएको देखिन्छ । उनीहरूबाटै ऋण असुली गर्न समस्या भइरहेको सहकारी कै कर्मचारी बताउँछन् ।

    यो सहकारीमा झण्डै पाँच सय बचतकर्ताको पसिनाको कमाई छ । जुन डुब्ने अवस्थामा पुगेपछि बचतकर्ता निराश छन् । तर सहकारीको पछिल्लो पटकको सक्रियताले उनीहरूलाई आफ्नो पैसा फिर्ता पाउनेमा आस पलाएको देखिन्छ । सहकारीले पनि ऋण असुली गर्न ऋणीहरूलाई ताकेता गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार