Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • राजस्व र अनुदान संकलनमा सरकार असफल

    राजस्व र अनुदान संकलनमा सरकार असफल

    अनलाइन नेपाल
  • शुक्रबार, ४ साउन २०८१
  • 288
    SHARES

    काठमाडौं । कमजोर पुँजीगत खर्च र आर्थिक गतिविधिमा सुस्तताका कारण गत वर्ष सरकारले लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकेन । राजस्व संकलन लक्ष्यअनुरूप हुन नसक्दा संघीय सरकारको सञ्चित कोष घाटा आर्थिक वर्षको असार मसान्तमा २ खर्ब ७० अर्ब रुपैयाँ बढी पुगेको छ ।

    आव २०७९–८० को असार मसान्तमा सरकार १ खर्ब ८१ अर्ब रुपैयाँले घाटामा रहेको थियो । यस वर्ष कर्जा, अनुदान र राजस्व लक्ष्यअनुरूप नभेट्दा संघीय सरकारको सञ्चित कोष गत आवमा मात्रै ९० अर्ब रुपैयाँले घाटामा गएको छ । सरकारको आम्दानीभन्दा खर्च बढी भएकाले सञ्चित कोष घाटामा गएको हो ।



    आर्थिक वर्ष २०७९–८० को १ खर्ब ८१ अर्ब सञ्चित कोष घाटा जोड्दा संघीय सरकारको सञ्चित कोषको कुल घाटा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो । राजस्व चुहावट, वैदेशिक व्यापारमा आएको कमीलगायतका कारणले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको हो ।



    राजस्वको लक्ष्य प्राप्त नगर्दा सरकारलाई खर्च व्यवस्थापनमा कठिनाइ हुने देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आव २०८०–८१ का लागि सरकारले लिएको राजस्व संकलनको लक्ष्यभन्दा करिब ४ खर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ ।

    गत आव सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, असार मसान्तसम्ममा सरकारले जम्मा १० खर्ब ३० अर्ब ३४ करोड ४३ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जुन, राजस्व संकलन लक्ष्यको तुलनामा ३ खर्ब ९१ अर्ब रुपैयाँले कम हो ।

    सरकारले पपुलारिटीका लागि हचुवाका भरमा बजेट ल्याउँदा राजस्व संकलन मात्र कमी भएको नभई पुँजीगत खर्च पनि गर्न नसक्दा अर्थतन्त्रमा गम्भीर धक्का पर्ने गरेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार