काठमाडौं । जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि सुरु भएको छ।
व्यक्ति पिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै शैलीमा सिकाइँदै आएको छ ।
उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको युनाइटेड र काठमाडौं कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो ।
जापानको कुमोन एजुकेसन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयमा सञ्चालित कुमोन अभ्यासको अवलोकनका साथै विद्यार्थीसँग अन्तर्क्रिया गरेका थिए ।
उनले नेपालका धेरैभन्दा धेरै विद्यार्थीलाई स्वतन्त्र रूपले आफ्नो लयमा आफैँ सिक्ने सीपहरू बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि हुने बताए ।
यो विधिबाट समस्या समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उनले बताए ।
एलआरआइ स्कुलका प्रिन्सिपल डा. देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरूको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताए ।
युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्वितीय स्वयं सिकाइ र विद्यार्थी केन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताए।
आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने बताए ।
यस विधिले विद्यार्थीले ‘आइक्यु’ स्तरमा सुधार गरेर ‘अपरेटिङ’ प्रणालीलाई छिटो गर्न मद्दत गर्ने अध्यक्ष लामाले जानकारी दिए ।
यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कन गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता) का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ ।
सोको प्रतिक्रिया विधिका प्रशिक्षकलाई पुग्ने र प्राप्त निर्देशनअुसार दिमागको प्रयोगमा सुधार गर्दै लगिनेछ ।
यो पद्धति हाल संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा युरोपका विभिन्न मुलुकमा सञ्चालन भइसकेको छ ।
आर्थिक रूपमा महँगो मानिने यो विधि नेपालमा सरल मूल्यमा उपलब्ध गराइएको छ ।
Leave a Reply