Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • भानु जयन्ती विशेष : भानुगृह पुनःनिर्माणको पर्खाइमा

    भानु जयन्ती विशेष : भानुगृह पुनःनिर्माणको पर्खाइमा

    अनलाइन नेपाल
  • शनिबार, २९ असार २०८१
  • 468
    SHARES

    तनहुँ । मेरा इनार, न त सत्तल पाटी केही छन्
    जे चिज र धनहरू छन् घरभित्र नै छन्
    त्यस घाँसीले कसरी आज दियेछ अर्ति
    धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)

    नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि विसं २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा उक्त काम शिलान्यासमै सीमित भयो ।



    भानुगृह पुनःनिर्माण गर्ने कुरा चर्चामै सीमित हुँदा अब भने काम अगाडि बढ्नेमा आशा जागेको छ । पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको उक्त भानृगृहको अधुरो काम मञ्चकै सक्रियतामा अगाडि बढ्ने भएको छ ।



    आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले भानुगृह पुनःनिर्माणको काम अगाडि बढ्ने चरणमा रहेको बताए । भानुगृहको इष्टमेट तयार भएको र अब बोलपत्र आह्वानको तयारी गरिएको उनको भनाइ छ । उनले भने, “विविध कारणले लामो समयदेखि भानुगृह पुनःनिर्माण हुन सकेन । यसबीचमा थुप्रै छलफल गर्यौ, अब कामले ठोस गति लिनेमा विश्वस्त छौँ ।”

    भानुगृहको लागत करिब रु एक करोड दश लाख रहेको छ । विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्न लागेको हो । त्यसका लागि मञ्चका पूर्वअध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरेको छ ।

    विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिको तर्फबाट आवश्यक सहयोग रहने समितिका कार्यकारी निर्देशक रानाभाटले जानकारी दिए ।

    विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरा समेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी रहेको रानाभाटको भनाइ छ ।

    यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित भयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास गरेका छौँ”, रानाभाट बताउछन् ।

    विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गरेका थिए । जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।

    भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।

    मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएको बताइन्छ । भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकामा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार