Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • प्रधानमन्त्री जोडिएको कार्यक्रम उद्योग मन्त्रालयको छिँडीमा

    प्रधानमन्त्री जोडिएको कार्यक्रम उद्योग मन्त्रालयको छिँडीमा

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 750
    SHARES

    काठमाडौं । नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नका लागि स्वदेशी उत्पादन सरकारीस्तरमा प्रयोग गर्ने भनिए पनि व्यवहारमा कार्यान्वयनमा आउन सकेको छैन ।

    सरकारी कर्मचारी तथा कार्यकक्षमा प्रयोग हुने सामानहरू स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्ने कानुन छ । तर कानुनको सही प्रयोग हुन सकेको छैन । बर्षेनी करोडौँका फर्निचरजन्य सामग्रीहरू विदेशबाट आयात भइरहेका छन् ।



    चालु आर्थिक वर्षमा सरकारले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यक्रम कार्यान्वयन इकाई खडा गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्न खोजेको छ ।



    विगतमा कानुन नै बनाएर स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान सञ्चालन गर्न खोजे पनि असफल भएको पाठ नसिकी करोडौँ बजेट छुट्याएर कार्यालय नै उद्योग मन्त्रालयमा स्थापना गरिएको छ ।

    मन्त्रालयको भूईतलाको ११३ नम्बर कोठालाई कार्यकक्ष बनाइएको छ । कार्यकक्षको छेउमै शौचालय छ । उक्त कार्यकक्षमा कार्यक्रम कार्यान्वयनमा खटिएका छन्–उपसचिव प्रकाश अर्याल र नायब सुब्बा श्रीराम पौडेल । अर्याल संस्थान शाखाको समेत जिम्मेवारी हेर्दछन् ।

    मन्त्रालयमा अन्य उपसचिवहरू हुँदाहुँदै एउटै उपसचिवलाई दोहोरो जिम्मेवारी दिएपछि स्वदेशी उत्पादन प्रवर्द्धन कार्यक्रम कसरी सफल होला भन्ने प्रश्न उठेको छ । कम्पनी रजिष्टार कार्यालयमा बर्षौ बसेर बदनाम भएका पौडेललाई स्वदेशी उत्पादनको प्रयोग गर्ने कार्यक्रममा लगिएको छ ।

    प्रधानमन्त्रीसँग जोडेर कार्यक्रम ल्याउँदैमा सफल हुने होइन, गिरिजाप्रसाद कोइरालापछि प्रधानमन्त्रीसँग जोडेर कार्यक्रम ल्याउने सौख कम्युनिष्ट नेताहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमा देखिएको छ ।

    पछिल्लो बजेटमा प्रचण्डले ‘प्रधानमन्त्री छोरी’ कार्यक्रम जोडेर नयाँ कार्यक्रम ल्याएका छन् । ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रति उद्योग मन्त्रालयको नेतृत्व सन्तुष्ट छैन । उद्योग मन्त्रालयको नेतृत्व नै सन्तुष्ट नभएको अवस्थामा यो कार्यक्रम कसरी सफल होला भन्ने प्रश्न उठेको छ ।

    कार्यक्रम कार्यान्वयनका लागि छुट्टै कर्मचारीको व्यवस्था गर्न नसक्नुले पनि मन्त्रालयको नेतृत्व यसको कार्यान्वयनमा विश्वस्त नरहेको देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार