Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सीआईबीले खोजेपछि एकाएक सम्पर्कविहीन भए पतञ्जलीका शालिग्राम सिंह

    सीआईबीले खोजेपछि एकाएक सम्पर्कविहीन भए पतञ्जलीका शालिग्राम सिंह

    अनलाइन नेपाल
  • बुधबार, २६ असार २०८१
  • 1K
    SHARES

    काठमाडौं । वैकल्पिक उपचार पद्धतिका रुपमा लिइने आयुर्वेदको महत्त्व भारत र नेपालमा प्रचूर रहेको छ । आयुर्वेदको यही सम्भावना देखेर बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीलाई नेपालमा पनि योग र जडीबुटीको क्षेत्रमा काम गर्न व्यापारी उपेन्द्र महतोहरुले नेपालमा भित्र्याएका थिए ।

    पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपा नगरपालिकामा आयुर्वेदिक विश्वविद्यालय, अनुसन्धान केन्द्र, योगशाला, आयुर्वेद औषधि उद्योग र गाई फार्म चलाउन तथा जडीबुटी खेती गर्न भनी हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको थियो ।



    नेपालमा आयुर्वेद विश्वविद्यालय, योगकेन्द्र, जडीबुटी उद्योग सञ्चालन गर्ने र विश्व बजारमा बिक्री गर्ने योजना अगाडि सारेकाले पतञ्जलिलाई १५ वर्षअघि माधव नेपाल नेतृत्वको सरकारले हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको थियो ।



    आयुर्वेद विश्वविद्यालय, योगकेन्द्र, जडीबुटी उद्योग सञ्चालन गर्नका लागि धेरै जग्गा आवश्यक पर्ने भनेर सरकारसँग पतञ्जली योगपीठले हदबन्दी छुट लियो ।

    हदबन्दी छुटमा पतञ्जलीले साबिक नासिकास्थान (साँगा) र महेन्द्रज्योति गाविस तथा चलाल गणेश स्थान (हाल बनेपा नगरपालिका) मा ८१५ रोपनी जग्गा खरिद गरेको थियो ।

    खरिद गरेको साढे तीन महिनामै पतञ्जलीले ८१५ रोपनीमध्ये ३५३ रोपनी जग्गा बिक्री गर्‍यो । उक्त ८ सय १५ रोपनी जग्गामध्ये ३५३ रोपनी जग्गा माधव नेपालकै सरकारले बेच्न अनुमति दिएको थियो । सरकारलाई झुक्याएर उक्त जग्गा बिक्री अनुमति लिइएको थियो ।

    उद्योग प्रयोजनमा किनेको जग्गा पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंहले प्लटिङ गरी बिक्री गरिएको खुलेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गर्ने तयारी गरेको थियो ।

    स्रोतका अनुसार पक्राउ गर्ने सूचना पाएपछि शालिग्राम सिंह नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) मार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कोमा पुगेका थिए । श्रेष्ठले प्रधानमन्त्री प्रचण्डमार्फत सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सिंहलाई पक्राउ नगर्न निर्देशन दिन लगाएको स्रोत बताउँछ ।

    चितवनका एक कँडेल थरका बिचौलियामार्फत शालिग्राम सिंहलाई पक्राउ पर्नबाट जोगाउन २ करोड नै लेनदेन गरिएको स्रोतको दाबी छ ।

    जडीबुटी उद्योग खोल्न खरिद गरिएको जग्गा बिक्री गरी शालिग्राम सिंहले अवैध हुन्डीमार्फत भारतमा रकम पुर्‍याएको विषयमा समेत सीआईबीले छानबिन गरी केही तथ्य फेला पारिसकेको छ ।

    उद्योग खोल्ने भनेर सरकारबाट छुट लिई हदबन्दी भन्दा बढी जग्गा खरिद गरी बिक्री गरेर मुनाफा लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेको छ । सीआईबी र अख्तियार दुवै निकायले पतञ्जलीका जग्गा रोक्का राखी अनुसन्धान गरिरहेका छन् ।

    काभ्रेको बनेपा नगरपालिकाको साँगा क्षेत्रमा हदबन्दी छुट पाएको ८१५ रोपनी जग्गामध्ये शालिग्राम सिंहले ३५३ रोपनी प्लटिङ गरी बिक्री गरेका छन् । हदबन्दीको जग्गा बिक्री गरेको पुष्टि भएपछि अख्तियार र सीआईबीबाट गहन छानबिन सुरु भएको थियो ।

    नेपाल सरकारबाट आयुर्वेद र जडीबुटी उद्योग खोल्ने भनी हदबन्दी छुट लिएर जग्गा कारोबार गरी मुनाफा लिएको विषयमा पतञ्जलीको प्रतिष्ठा गिराउने काम शालिग्राम सिंहले गरेका छन् ।

    पतञ्जलीको यत्तिकै बदनाम त भएकै छ, प्रमुख शालिग्राम सिंह पनि पक्राउ पर्ने हो भने भारतमा हुन्डी गरी रकम पठाएको विषय पनि पर्दाफास हुने भएपछि आचार्य बालकृष्णले नै पूर्वमन्त्री किसान श्रेष्ठलाई गुहारेर शक्तिकेन्द्रमा बिचौलियाका रुपमा खटाएको स्रोत बताउँछ ।

    अख्तियार र सीआईबी दुवैतिरबाट छानबिन हुन थालेपछि पतन्जली योगपीठ नेपालका प्रमुख शालीग्राम सिंह फरार भएका छन् । पतञ्जली योगपीठ नेपाल नेपालमा ल्याउनमा व्यापारी उपेन्द्र महतोको समेत प्रमुख भूमिका थियो ।

    तर पवित्र उद्देश्यले खोलिएको पतञ्जलीमा शालिग्राम सिंहको निकृष्ट र भ्रष्ट कार्यशैलीबाट दिक्क भएर महतो अलग भएका थिए । समाचारको प्रतिक्रियाका लागि शालिग्राम सिंहसँग पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार