Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भारी वर्षाले झापाको जनजीवन प्रभावित

    भारी वर्षाले झापाको जनजीवन प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, २५ असार २०८१
  • 552
    SHARES

    फाइल तस्विर

    झापा । भारी वर्षासँगै विभिन्न खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित भएको छ ।

    बाढी पसेर कटान र डुबान भएका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पछिल्लो समय कन्काईमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका–१ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगाबथानका ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।



    झापा गाउँपालिका र गौरीगञ्ज–१ मा यस वर्ष बाढीले तीन जनाको मृत्यु भएको छ । एक बालक बेपत्ता छन् । झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको हो ।

    सोमबार दिउँसो खोलामा खेल्ने क्रममा डुबी घाइते भएका झापा गाउँपालिका–२ का रहमान आलम मियाका तीन वर्षीय छोरा दिलसाद आलम मियाको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो ।

    यसअघि सोही ठाउँका एक जना र गौरीगञ्ज–१ का एक जनाको मृत्यु भइसकेको छ । गौरीगञ्ज–१ का १२ वर्षीय बालक कमल बनियानी खोलामा डुबेर दुई साता अघि बेपत्ता भए पनि फेला परेका छैनन् ।

    त्यसैगरी रतुवा खोलामा आएको बाढीले कमल गाउँपालिका–६ खयरबारीमा कटान गरेको छ । आज कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका सभापति चन्द्र साह, सचिव पारसमणी राईसहित रेडक्रसकर्मीको टोलीले प्रभावित क्षेत्रको स्थलगत जानकारी लिए ।

    खयरबारी क्षेत्र विसं २०५० अघिदेखि रतुवा खोलाको कटानका कारण जोखिममा छ । रतुवाका कारण २० वर्षअघिदेखि विस्थापित भएका बाढी पीडित परिवारलाई तत्काल वैकल्पिक बसोबासको व्यवस्था मिलाइए पनि स्थायी बसोबासको व्यवस्था गर्न सकिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार