विराटनगर । विराटनगरमा सोमबार राति एक जना युवकको हत्या भएको छ भने दुईजना घाइते छन् ।
मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको हो ।
बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए।
गम्भीर अवस्थाका कामतको भने उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।
घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ। घटना कसले गराएको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ।
Leave a Reply