Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कोरोना महामारी: विश्वभरी दुई करोड ५९ लाख संक्रमित

    कोरोना महामारी: विश्वभरी दुई करोड ५९ लाख संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । कोरोनाभाइरसबाट भारतमा कुल सङ्क्रमितको संख्या ३७ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्म सङ्क्रमितको कुल संख्या ३७ लाख ६९ हजार ५२३ पुगेको हो ।
    तीमध्ये ७८ हजार ३५७ जना पछिल्लो एकैदिनमा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा कुल सङ्क्रमितमध्ये झण्डै २९ लाख अर्थात् ७६.९८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण ६६ हजार ३३३ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।



    भारतमा अहिले पनि आठ लाख एक हजार २८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण अहिलेसम्म संसारभरी दुई करोड ५९ लाख २५ हजार ४७० जना संक्रमित भएका छन् । तीमध्ये अहिलेसम्म आठ लाख ६१ हजार ६६७ जनाको कोरोनाकै कारणले मृत्यु भइसकेको छ ।



    मृत्यु भएका र सङ्क्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने दोस्रो धेरै ब्राजिलमा र तेस्रो धेरै भारतमा रहेका छन् । कोरोनाभाइरसको उत्पत्ति भएको मानिने चीन भने अहिले संक्रमितहरुको संख्याका आधारमा ३८ औँ स्थानमा रहेको छ ।

    पछिल्लो विवरण अनुसार अमेरिकामा ६२ लाख ५८ हजार २८ जना सङ्क्रमित हुँदासम्म एक लाख ८८ हजार ९०७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना सङ्क्रमित रहेकामा एक लाख २२ हजार ६८१ जनाको मृत्यु भएको तथ्यांक छ ।

    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ ओटा देशमा पुगेको छ । सन् २०१९ को डिसेम्बरको अन्त्यतिर पहिलो पटक कोरोनाको संक्रमण चीनको उहान सहरमा देखिएको थियो । डिसेम्बर र जनवरीसम्म चीनमा मात्रै रहेको कोरोना फेब्रुअरीदेखि फिलिपिन्स, जापान, इरान, इटली, दक्षिण कोरिया, फ्रान्स हँुदै विश्वभरी फैलिएको हो ।

    यो संक्रमण फैलाउने विषाणुलाई नयाँ कोरोनाभाइरस भन्ने गरिएको छ । विश्वभरी फैलिएर सबैलाई प्रभावित पारेको यस्तो संक्रमणको अहिलेसम्म पनि औषधी प्रमाणीकरण हुन सकेको छैन् । कतिपय बैज्ञानिकहरुले औषधी बनाइएको दावी गरेपनि ती सबै अहिले परीक्षणकै चरणमा रहेका छन्।

    अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका अनुसार हाल विश्वमा १२५ वटा कोरोनाभाइरसको खोपबारे अनुसन्धान भइरहेको छ जसमध्ये ३६ वटा मानवमा परीक्षण भइरहेका छन् । अघिल्लो साताको अन्त्यसम्म नौ खोपको तेश्रो चरण अन्तर्गत ठूलो संख्यामा मानिसमा परीक्षण भइरहेका उक्त अखबारले जनाएको छ ।
    ––

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार