Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कृषि अनुदानमा लाखौंको भ्रष्टाचार, पालिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

    कृषि अनुदानमा लाखौंको भ्रष्टाचार, पालिका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, २४ असार २०८१
  • 492
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा अख्तियारले अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।



    अध्यक्ष रोकाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष धामी एमालेबाट निर्वाचित भएका थिए तर हाल उनी नकपा एकीकृत समाजवादीबाट हुम्ला पार्टी अध्यक्ष रहेका छन्।

    त्यस्तै, गाउँपालिकाका इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

    गाउँपालिकाका अध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालन नामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको आयोगले जनाएको छ ।

    प्रवक्ता घिमिरेले मुद्दा दायर गरिएका नौ जनालाई जनही १९ लाख ५० हजार रुपैयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको बताए ।

    यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुका कार्यालय प्रमुख बुढासहित ६ जनाविरुद्ध विशेष अदालत मुद्दा दायर गरिएको हो ।

    आयोगका प्रवक्ता घिमिरेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७५।०७६ को पशु वधशाला निर्माणमा अनियमितता गरेको तथा सोही आर्थिक वर्षको भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

    भेडा खरिद तथा गोठ निर्माण कार्यका लागि ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँग सम्झौता भई गोठ निर्माण कार्यमा फिल्डमा नभएको कामलाई भएको भनी भुक्तानी दिइएको आरोप पत्रमा उल्लेख छ ।

    नक्कली बिल भरपाई बनाएर बढी भुक्तानी दिएको आरोप उनीमाथि छ । आयोगले प्रमुख बुढाविरुद्ध २० लाख ७० हजार ४४९ रुपैयाँ बिगो कायम गरेको छ ।

    यस्तै, छाँयानाथ रारा नगरपालिका मुगुका तत्कालीन इन्जिनियर हरिदेव पण्डित र सब–इन्जिनियर विष्णुभक्त हितानलाई विरुद्ध १६ लाख ७० हजार ६२८ रुपैयाँ बिगो कायम गरिएको छ ।

    यस्तै, ऋणीमोक्ष सहकारीका सञ्चालक सुरबहादुर बुढा विरुद्ध ३ लाख ९९ हजार ८२१ रुपैयाँ बिगो कायम गरिएको छ । कर्णाली एकीकृत महिला विकास मञ्चकी सञ्चालक राधिका मल्लविरुद्ध आयोगले १२ लाख २३ हजार ७ सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

    त्यसैगरी रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावतविरुद्ध पनि मुद्दा दायर गरिएको छ । मासु पसल भवन निर्माण कार्यमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी काम भएको भन्दै भुक्तानी लिएको आयोगको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार