Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • राजस्वका यी करोडपतिलाई अख्तियार प्रमुखले दिए क्लिन चिट, मध्यस्थकर्ता एसपी पुरस्कृत !

    राजस्वका यी करोडपतिलाई अख्तियार प्रमुखले दिए क्लिन चिट, मध्यस्थकर्ता एसपी पुरस्कृत !

    अनलाइन नेपाल
  • बुधबार, १७ भाद्र २०७७
  • 11.2K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कार्यकालको अन्तिम समयमा आएर राजस्व समूहका ४० जनाभन्दा बढी शाखा अधिकृत र उपसचिवको उजुरी तामेलीमा राखेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्ने शाखा अधिकृत र उपसचिवबिरुद्ध सुक्ष्म छानबिन गरेको थियो । १ बर्षअघि आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) र राष्ट्रिय अनुसन्धान विभागलगायतका निकायको सहयोगमा राजस्वका शाखा अधिकृत र उपसचिवहरुको अकूत सम्पत्ति विवरण संकलन गरेको थियो ।



    अख्तियारले राजस्व समूहमा बसी अरब कमाएका शाखा अधिकृत र उपसचिवलाई तर्साउन मानप्रसाद विक, रामजी रिजाल, कृष्ण बस्नेत र टीकाराम भूसाललगायतका केही अधिकृत र उपसचिवबिरुद्ध मुद्दा दर्ता गर्यो । तर भूसाल र विक भन्दा अथाह सम्पत्ति आर्जन गर्ने राजस्व समूहका डनहरुलाई भने प्रमुख आयुक्त घिमिरेले जाँदाजाँदै उन्मुक्ति दिएका छन् ।



    स्रोतका अनुसार राजस्वका अकूत वालाहरुको उजुरी तामेलीमा राख्नका लागि मध्यस्थताको भूमिका एसपी प्रवीण पोखरेलले पूरा गरेका थिए । एसपी पोखरेलमार्फत् राजस्व समूहका अधिकृत र उपसचिवले सेटिङ गरिसकेपछि सबैको उजुरी तामेलीमा राखिएको छ ।

    आफ्नो स्वार्थ पुरा गरेबापत घिमिरेले पोखरेललाई प्रहरीमा आकर्शक मानिने रुपेन्देही जिल्लाको एसपी बनाउन प्रहरी प्रधान कार्यालयलाई दबाब दिएका थिए। जसअनुसार पोखरेलको सरुवा पनि रुपेन्देहीमा भइसकेको छ।

    दीप बस्नेतले लक्ष्मण बाँस्तोलाबाट राजस्व समूहका अधिकृत, उपसचिव र सहसचिवहरुबाट असुली गरी तामेलीमा हालेर हिंडेका थिए भने घिमिरेले पोखरेलमार्फत् डिल गरी तामेलीमा राखेका छन् ।

    रसुवा भन्सारबाट १ बर्षअघि अवकाश पाएका अरबपति शाखा अधिकृत श्याम बस्नेत, दयानन्द केसीहरुबाट त आधा करोडकै डिल भएको स्रोतको दाबी छ ।

    त्यसैगरी राजस्व समूहमा बसी अकूत सम्पत्ति आर्जन गर्ने उपसचिव सेवन्तक पोखरेल, मदन दाहाल, लालबहादुर खत्री,  रामप्रसाद रेग्मी, धर्मेन्द्र मिश्र, प्रकाश पौडेल, भूपाल शाक्य, बोलराज आचार्य, धु्रव पोखरेल, चण्डी घिमिरे, पुण्यविक्रम खड्का, टेकबहादुर अर्याल, गोपाल खत्री, गोविन्दप्रसाद अधिकारी, गोपाल कोइराला, मणिराम पौडेल, दुर्गादत्त भण्डारी, शरदचन्द्र पौडेल, कृष्णबहादुर बोहराको सम्पत्ति छानबिन गरेको थियो ।
    त्यसैगरी उपसचिवहरु शिशिर घिमिरे, कमल राजलवट, शान्तिराम निरौला, नारद गौतम, षडानन्द गौतम, जनकराज शर्मा, टंकप्रसाद पौडेल, केशवकुमार भण्डारी, जगदिश शर्मा, विन्देश्वर लेखक, कृष्ण बस्नेत, खेमराज गौतम छन् ।

    यी उपसचिवहरुलाई अख्तियारले केहीलाई पत्र काटेर नै बयानका लागि बोलाएको थियो भने केहीलाई सिधै फोनमार्फत् नै बोलाएर बयान लिएको थियो ।

    भन्सार अधिकृत र कर अधिकृतहरुको सम्पत्ति विवरण पनि अख्तियारले छानबिन गरेको थियो । आयोगले छानबिन गरिरहेका अधिकृतहरुमा धर्मराज सुवेदी, ललिता ज्ञवाली, भूपेन्द्र कार्की, पोष्टराज बास्तोला, अर्जुन पाठक, यमबहादुर थापा, विजय खनाल, रमेश खड्का, देवानन्द काफ्ले, मन्त्रीकुमार खत्री, केशराजी खनाल, सूर्यबहादुर कुँवर, तेजमणि काफ्ले, धनबहादुर बरुवाल, रुपककुमार पोखरेल छन् ।

    अधिकृतहरु धु्रव रेग्मी, फणिन्द्र अर्याल, विष्णुकुमार श्रेष्ठलगायतलाई पनि बयानमा बोलाएको थियो । अख्तियार स्रोतका अनुसार विभिन्न स्रोतबाट उनीहरुको सम्पत्ति खोजी गरी प्रारम्भिक छानबिन सुरु गरिएको थियो ।

    आयोगले राजस्व समूहमा कार्यरत अकूत सम्पत्ति आर्जन गरी गाडी खरिद, ब्यापारमा लगानी र काठमाडौं लगायतका महंगा शहरमा घरजग्गा र छोराछोरीलाई हैसियत भन्दा महंगा स्कुल र कलेजमा अध्ययन गराएको विवरणका आधारमा अनुसन्धान सुरु गरेको थियो । आयोगले उनीहरुले नातागोताका नाममा घरजग्गा खरिद गरेको विवरण पनि लिएको थियो ।

    राजस्व समूहका कतिपय उपसचिव र अधिकृतले माधव सापकोटा, राजेन्द्र श्रेष्ठ, जगदिश श्रेष्ठ र योगेश श्रेष्ठ जस्ता ब्यापारीलाई लगानी गरेको सूचना पनि अख्तियारले फेलापारेको थियो । भैरहवा भन्सारमा कार्यरत कर्मचारीहरुले सुगम ट्रान्सपोर्टमार्फत् घुसको रकम संकलन गरी आफन्तमार्फत् भाग लिने गरेको सूचना पनि अख्तियारले पाइसकेको थियो । यमबहादुर थापा र राजेन्द्रबन्धु अर्यालले काठमाडौंस्थित सुगम ट्रान्सपोर्टमा दिने र त्यसमार्फत् भन्सारका कर्मचारीका आफन्तले घुस बुझ्ने गरेको सूचना पाइसकेको थियो । अख्तियार प्रारम्भिक छानबिन सकिएपछि ५० लाख भन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएमा राजस्व समूहका कर्मचारीहरुबिरुद्ध मुद्दामा जाने तयारीमा थियो ।

    अख्तियारका प्रमुख आयुक्त घिमिरेले जाँदाजाँदै सबैसँग उनीहरुको सम्पत्ति हेरी एसपी पोखरेलमार्फत् डिल गरी उजुरी तामेलीमा राखेको आरोप छ । प्रमुख आयुक्त घिमिरेले राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजना, ललिता निवास जग्गा प्रकरण जस्ता ठूला मुद्दा विशेष अदालतमा दायर गरी आफ्नो छविमा दाग लाग्न दिएका थिएनन् । तर जाने बेलामा उनले ठूला भ्रष्टाचारका मुद्दा तामेलीमा राखेर आफ्नो छवि गिराएर दीप बस्नेतकै अनुशरण गर्न पुगेका छन् । काठमाडौंमा ४ वटा घर र दुईटी श्रीमती ल्याउने, छोराछोरी डाक्टर अध्ययन गराउने राजस्वका उपसचिवले समेत उन्मुक्ति पाएका छन् । तर १ करोड हाराहारी सम्पत्ति देखिएका मानप्रसाद विकलाई मुद्दा दायर गरिएको छ ।

    ( बुधबार साप्ताहिक)बाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार