Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सिउँडी बचत तथा ऋण सहकारी : कहाँ छ बचतकर्ताको ३६ लाख पैसा ?

    सिउँडी बचत तथा ऋण सहकारी : कहाँ छ बचतकर्ताको ३६ लाख पैसा ?

    पूर्ण बहादुर साउँद
  • बुधबार, १९ असार २०८१
  • 1.7K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका–१ स्थित श्री सिउँडी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको ३६ लाखभन्दा बढी रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ । ऋण लिएका व्यक्तिहरूले १६ वर्ष भइसक्दा पनि ऋण चुक्ता नगरेपछि बचतकर्ताको सो रकम डुब्ने अवस्थामा पुगेको हो ।

    केही वर्ष यता सहकारी नै भद्रगोल अवस्थामा पुगेपछि खाई नखाई बचत गरेका सर्वसाधारण बचतकर्ताको रकम पनि जोखिममा परेको छ । यति बेला आफ्नो बचत गरेको रकम नपाएपछि लगभग ५ सय बचतकर्ता तनावमा छन् । उनीहरूले सहकारी सञ्चालक समिति र कर्मचारी कै कमजोरीका कारण आफूहरूको बचत डुब्ने अवस्थामा पुगेको गुनासो गरेका छन् ।



    पछिल्लो केही वर्ष यता सहकारी तनावपूर्ण अवस्थामा छ । यदि अझै पनि सञ्चालक समितिले बेवास्ता गरे भने बचतकर्ताको करिब ३६ लाख ५६ हजार ६९८ रुपैयाँ डुब्ने छ । २०७९ फागुन ३० गतेसम्मको हिसाब हेर्दा व्याजसहित करिब ३६ लाख ५६ हजार ६९८ रुपैयाँ ऋण असुली गर्न बाँकी छ ।



    तर अब त्यो रकम हिसाब गर्दा केही तलमाथि हुनसक्छ । त्यसपछि अहिले रकमको यकिन हिसाब गर्न बाँकी छ । सहकारी सञ्चालक समितिका अध्यक्ष राम बहादुर थापाका अनुसार अहिले त्यहाँका कर्मचारीसँग पूरा हिसाबकिताब माग्ने क्रम जारी रहेको छ ।

    सो सहकारी २०६५ सालमा स्थापना भएको थियो । तर २०६५ सालदेखि नै ऋण लिएका व्यक्तिहरूले अझै चुक्ता गरेको देखिँदैन । उनीहरू सर्वसाधारण बचतकर्ताले जम्मा गरेको पैसा पचाएर बसेको आरोप छ । सो रकम सर्वसाधारणदेखि, नेता कर्मचारी लगायतले हजम गरेर बसेका छन् ।

    मिति २०७९ साल चैत ९ गते सहकारीका अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकले पनि खराब ऋण असुलीका लागि पहल गर्ने र ऋण लगानी स्थगित गर्ने निर्णय गरेको थियो । तर सो समयमा पनि करिब डेढ लाख मात्रै असुली भएको र बाँकी ऋण अझै पनि उठ्न सकेको छैन ।

    अहिले सहकारीले पनि ऋण असुली गर्न खासै चासो नदेखाएको समिति भित्रैका व्यक्तिहरू बताउँछन् । तर यता अध्यक्ष थापाले भने आफूहरू निरन्तर ऋण असुली गर्ने क्रममै रहेको दाबी गरे ।

    कर्मचारीका कारण सहकारीमा समस्या आएको उनको आरोप छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय अछामले पनि उजुरी आएको खण्डमा अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

    कहाँ छ बचतकर्ताको पैसा ?

    सहकारीले करिब २८ लाखभन्दा बढी ऋण लगानी लगाएको छ । अहिले ब्याजसहित ३६ लाखभन्दा माथि छ । सो पैसा चौरपाटी गाउँपालिकाको वडा नम्बर १ सिउँडी कै व्यक्तिहरूले ऋण लिएका छन् । साबिकका ९ वटै वडामा सो पैसा ऋण लगानी छ ।

    स्थापना कालदेखि नै ऋण लिएका व्यक्तिले अहिलेसम्म पनि चुक्ता गरेका छैनन् । उनीहरूलाई सहकारीले पटक पटक सूचना गरे पनि ऋण तिर्न अटेर गरिरहेका छन् । २०७९ साल फागुन ३० गतेको हिसाब गर्दा साबिकका ९ वटै वडाका व्यक्तिहरूले लिएको ऋण व्याजसहित ३६ लाख ५६ हजार ६९८ रुपैयाँ छ ।

    त्यसपछि केही रकम असुली भएको सहकारी बताउँछ । अहिले सहकारी सञ्चालकसमित यकिन हिसाब निकालिरहेको छ । २०७९ साल फागुन ३० गतेको हिसाब अनुसार साबिक सिउँडी गाविस वडा नम्बर १ का २२ जनाले ऋण लिएका छन् । उनीहरूबाट चार लाख ६५ हजार ८३३ असुली गर्न बाँकी छ ।

    यस्तै साबिककै वडा नम्बर २ का ११ जनाले ऋण लिएको देखिएको छ । उनीहरूबाट पनि व्याजसहित दुई लाख ७८ हजार ८१ रुपैयाँ असुली हुन बाँकी छ । यसै गरी वडा नम्बर ३ का ५ जनाबाट व्याजसहित दुई लाख ४५ हजार ६२० रुपैयाँ उठ्न बाँकी छ । यस्तै वडा नम्बर ४ का २८ जनाबाट आठ लाख ९५ हजार ९८७ रुपैयाँ असुली गर्न बाँकी छ ।

    यसै गरी वडा नम्बर ५ का १५ जनाबाट पाँच लाख चार हजार ९९ रुपैयाँ ऋण असुली गर्न बाँकी देखिएको छ । यस्तै वडा नम्बर ६ का १६ जनाबाट तीन लाख ८० हजार ७५० र वडा नम्बर ७ का ३ जनाबाट व्याजसहित एक लाख ९६ हजार ४३३ रुपैयाँ असुली गर्न बाँकी देखिन्छ ।

    यसै गरी वडा नम्बर ८ का १२ जनाबाट तीन लाख ११ हजार ९६२ रुपैयाँ असुली गर्न बाँकी छ । तर यो लिस्टमा भएका केही व्यक्तिले व्याजसहित बुझाइसकेका छन् । यस्तै वडा नम्बर ९ का ११ जनाबाट तीन लाख ७७ हजार ३२ रुपैयाँ असुली गर्न बाँकी रहेको देखिन्छ ।

    यो २०७९ साल फागुन ३० गतेको हिसाब भएकोले केही व्यक्तिबाट पैसा असुली भइसकेको छ भने अझै धेरै व्यक्तिहरूको असुली हुन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार