Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सिउँडी बचत तथा ऋण सहकारी डुब्ने खतरा, बचतकर्ताको ३६ लाख जोखिममा !

    सिउँडी बचत तथा ऋण सहकारी डुब्ने खतरा, बचतकर्ताको ३६ लाख जोखिममा !

    ऋण खानेले पचाए, १२ वर्षसम्म पनि तिरेनन्

    पूर्ण बहादुर साउँद
  • मंगलबार, १८ असार २०८१
  • 1.6K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका-१ स्थित श्री सिउँडी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको लाखौँ रुपैयाँ जोखिममा परेको छ ।

    केही वर्ष यता सहकारी नै भद्रगोल अवस्थामा पुगेपछि खाई नखाई बचत गरेका सर्वसाधारण बचतकर्ताको ३६ लाखभन्दा बढी रुपैयाँ जोखिममा परेको हो । सहकारी सञ्चालक समितिका अनुसार सहकारीले २८ लाख रुपैयाँ ऋण लगानी लगाएको थियो ।



    तर २०७९ फागुन ३० गतेसम्मको हिसाब हेर्दा व्याजसहित करिब ३६ लाख ५६ हजार ६९८ रुपैयाँ ऋण असुली गर्न बाँकी छ । त्यसपछि करिब डेढ लाख मात्रै असुली भएको र बाँकी ऋण अझै पनि उठ्न सकेको छैन ।



    अहिले व्याजसहित ३६ लाख भन्दा पनि बढी रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ । यति बेला सहकारीमा जम्मा गरेको रकम फिर्ता नभएपछि बचतकर्ता समस्यामा परेका छन् । उनीहरू अहिले दिनहुँ जसो बचत फिर्ता माग्न कार्यालयसम्म पुग्ने गरेका छन् । तर त्यहाँ कहिले कर्मचारी नभेटिने र कहिले पैसा छैन भनेपछि बचतकर्ता रित्तो हात घर फर्किन बाध्य छन् ।

    सो सहकारीलाई ऋण लगानी उठाउन हम्मे हम्मे परेको छ । सोही कारण चार सय भन्दा बढी बचतकर्ताको २८ लाख भन्दा बढी रकम जोखिममा परेको हो । सहकारी कै कर्मचारी र समितिको लापरबाहीले गर्दा बचतकर्ताको लाखौँ रुपैयाँ जोखिममा परेको आरोप लागेको छ ।

    तर सहकारी सञ्चालक समितिले पटक पटक लगानी गरेको पैसा उठाउने कोसिस त ग¥यो तर पनि सम्भव भएन । मिति २०७९ साल चैत ९ गते सहकारीका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पनि खराब ऋण असुलीका लागि पहल गर्ने र ऋण लगानी स्थगित गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय अनुसार भाका नाघेको खराब ऋण असुलीका लागि सहकारी व्यवस्थापक समितिका पदाधिकारी र ऋण समितिका संयोजक हर्क बहादुर साउँदसहितको टोली टोल टोलमा पुग्यो । तर अझै पनि सोचे अनुसार ऋण असुली भएन । संयोजक साउँदका अनुसार त्यो बेला सबै जना ऋण असुली गर्न टोल टोलमा पुगेका थिए ।

    सो समयमा करिब डेढ लाखसम्म ऋण असुली भएको उनी बताउँछन् । आफूहरूले ऋण असुली गर्ने अभियान चलाएपछि केही व्यक्तिले ऋण तिरेको र केही तिर्न तयार रहेको उनको भनाई छ । तर अहिले सो समिति पनि ऋण असुली गर्न नसक्ने भएपछि चुपचाप लागेको छ ।

    ऋण समितिका संयोजक साउँदले पनि आफूले बचत गरेको पैसा नपाएको बताए । उनले भने, “त्यो समयमा ऋण असुली गर्न भनी आफू सक्रिय भएर लागे । केही ऋण असुली पनि भएको थियो । उठेको पैसा तत्काल लगानी नगर्ने भन्ने पनि निर्णय भएको थियो । तर सो उठेको पैसा कहाँ गयो थाहा छैन ।”

    यस्तै सहकारी कै सदस्य गोरख बहादुर साउँदले पनि सहकारीको लाखौँ रुपैयाँ जोखिममा परेको स्वीकार गरेका छन् । आफूहरूले पटक पटक ऋण असुली गर्न खोजे पनि सफल हुन नसकेको बताए । नेतृत्व कै कमजोरीका कारण पनि पैसा डुब्ने सम्भावना बढेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    सर्वसाधारण ऋणीहरूले पैसा बुझाए पनि आफूलाई ठुलाबडा सम्झनेहरूले भने अटेरी गर्ने गरेको उनी बताउँछन् । अगुवा, कर्मचारी र नेताबाटै पैसा असुली हुन नसकेको उनको भनाई छ । आफूले पहिला बचत गरेको पैसा सहकारी भद्रगोल अवस्थामा पुगेपछि फिर्ता लगेको पनि उनले जानकारी दिए ।

    उनले भने, “मैले सहकारीमा आफूसहित परिवारका सदस्यको नामको शेयर पनि फिर्ता लगिसकेको छु । अब केही पैसा मात्रै बाँकी रहेको छ । त्यो पनि फिर्ता माग्ने तयारीमा छु ।”

    यता सहकारीका सर्वसाधारण बचतकर्ता भने यो पैसा डुब्ने भयो भन्ने चिन्तामा छन् । बचत फिर्ताको लागि पटक पटक सहकारीमा पुग्दा पनि विभिन्न वाहाना बनाएर आफूहरूलाई फिर्ता पठाउने गरेको उनीहरूको गुनासो छ ।

    सहकारी व्यवस्थापक समितिका पदाधिकारी कै मिलेमतोमा ऋण असुली हुन नसकेको सर्वसाधारण बचतकर्ताको आरोप छ । अब पनि आफ्नो बचत गरेको पैसा नपाए आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ ।

    विभिन्न प्रलोभन देखाएर आफूहरूलाई सहकारीमा पैसा बचत गर्न लगाएर अहिले आफ्नो सावाँसमेत फिर्ता नदिएको भन्दै बचतकर्ता आक्रोशित छन् । आफूहरूले खाई नखाई बचत गरेको पैसा अब पनि फिर्ता नपाए प्रहरी कहाँ उजुरी दिने उनीहरूको चेतावनी छ ।

    सहकारीले ऋण लिएको पैसा फिर्ता गर्न पटक पटक सूचना गरे पनि उनीहरू अटेर गरेर बसेको बताउँछ । करिब १२ वर्ष अगाडिदेखि ऋण लिएका व्यक्तिहरूले पनि अझै सहकारीलाई साँवा र व्याज फिर्ता नगरेको भेटिएको छ । सहकारीका अध्यक्ष राम बहादुर थापाले आफूहरू ऋण असुलीकै प्रक्रियामा रहेको बताएका छन् ।

    उनका अनुसार सहकारीमा सुरुमा आठ सय शेयर सदस्य रहेकोमा अहिले पाँच सयभन्दा कम छन् । उनले भने, “हामीले २८ लाख रुपैयाँ लगानी लगाएका हौँ । अहिलेसम्म व्याजसहित धेरै पुगिसकेको हुनसक्छ । केही दिनमा त्यहाँका कर्मचारीसँग पूरा हिसाब मागेर फेरि ऋण असुली गर्ने प्रक्रियामा लाग्छौँ ।”

    तर अध्यक्ष थापाले बचत फिर्ता लिन आउनेहरूलाई रकम फिर्ता दिइरहेको जिकिर गरे । अहिले सहकारी डुब्ने अवस्थामा पुगेपछि बचतकर्तालेसमेत बचत गर्न छोडिसकेका छन् । सो सहकारी २०६५ सालमा स्थापना भएको थियो ।

    यस्तै जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सो सहकारीका बचतकर्ताहरूले पैसा नपाएको भन्दै प्रहरीमा उजुरी दिएका छैनन् । अछाम प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र साउँले प्रहरीसम्म कसैले पनि उजुरी नदिएको बताउँदै उजुरी परेको खण्डमा अनुसन्धान थालिने बताए ।

    तर उनले सहकारीलाई यस विषयमा सोधपुछ गरिने बताए । उनले आफ्नो पैसा फिर्ता नपाएका बचतकर्तालाई उजुरी दिन पनि आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार