काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई मुख्य अभियुक्त मानिएका बेचन झा र प्रतिक थापा पक्राउ परेलगत्तै सत्ता गठबन्धन टुटेको छ ।
कतिपयले नक्कली भुटानी शरणार्थी प्रकरणसँगै जोडेर सत्ता गठबन्धन फेरिएको विश्लेषण गरेका छन् । यस प्रकरणमा बेचन झा राजनीतिक बिचौलिया हुन् ।
तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले झामार्फत नै आफुले भुटानी शरणार्थी बनाउने भनेर पैसा उठाउने समूहलाई भेटेको बयान दिएका थिए ।
झाको बयान लिएमा थप गहिराईमा पुग्न सकिने उनको भनाई छ । कांग्रेसका उच्च तहका नेताले झालाई भेट्न पठाएको पाण्डेको दाबी छ ।
तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई समेत झाले माथिल्लो तहका नेताबाट फोन गराएर झालाई भेटाउनुले झाको सम्पर्क पार्टी सभापति शेरबहादुर देउवाको परिवारसँगै रहेको प्रष्ट बुझिन्छ ।
यसअघि प्रहरीले रणनीतिक रुपमा सचिव पाण्डेको बयान लिई खाणलाई पक्राउ गरेको थियो । अहिले झामार्फत उच्च नेता पक्राउ गर्न सक्ने डरले पनि कांग्रेस नेतृ आरजु देउवा लगायत डराएको बताइन्छ ।
यद्यपी आरजुले झासँग सम्पर्क नभएको भन्दै आफुविरुद्ध समाचार लेख्नेविरुद्ध समेत उजुरी गरेकी छिन् ।
प्रहरी स्रोतका अनुसार झा र थापा दुवैलाई बिशेष ब्यूरोले भारतबाट पक्राउ गरी ल्याएको हो । तर, काठमाडौं प्रहरीले पक्राउ गरेको भनेर प्रचार गरिएको छ ।
ब्यूरोको प्रमुखमा हाल डिआइजी मनोज केसी छन् । केसी तिनै प्रहरी अधिकृत हुन् जो अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा यससम्बन्धि फाइल खोलेर उच्चपदस्थलाई पक्राउ गराएका थिए ।
अर्कोतर्फ जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रमुखमा एसएसपी बसन्त रजौरे छन् । यसअघिका एसएसपी भुपेन्द्र खत्रीलाई हटाएर गृहमन्त्री रवि लामिछानेले रजौरेलाई त्यहाँ लगेका थिए ।
जसकारण गृहमन्त्री, डिआइजी केसी र एसएसपी रजौरे मिलेर नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरुलाई सकेसम्म तान्ने योजना बनेको थाहा पाएपछि कांग्रेस नेताहरु तर्सिएको स्रोत बताउँछ ।
संयोग कस्तो भने झा पक्राउ परेको भोलिपल्टै शेरबहादुर देउवा र आरजु बालकोट पुगेर ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।
अर्थमन्त्री वर्षमान पुनले पनि बेचन पक्राउ परेसँगै बेचैनी बढेर सरकार ढाल्ने प्रयास भएको प्रतिक्रिया दिइसकेका छन् ।
साथै अब नयाँ सरकार बनेपछि यो मुद्दाको अनुसन्धान पनि अब प्रभावित हुने सम्भावना देखिएको छ । कांग्रेस एमालेको प्रारम्भिक सहमतिमा गृह मन्त्रालय कांग्रेसलाई दिने सहमति छ ।
साथै, काठमाडौंका एसएसपी रजौरेको पद पनि संकटमा परेको छ ।
Leave a Reply