काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गर्ने बताएका छन् ।
निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै श्रममन्त्री अर्यालले यस्तो बताएका हुन्।
श्रममन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गरे ।
वैदेशिक रोजगारी जाने होस वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको श्रममन्त्री अर्यालले बताए ।
श्रममन्त्री अर्यालले भने,‘सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ । बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरु पुरा गर्न सक्छ । त्यसैले सीपमूलक कार्यक्रममा ठूलो लगानी गर्नुपर्नेछ ।’
श्रममन्त्री अर्यालले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवद्र्धन र व्यवस्थित गर्न मन्त्रालयले रोजगार बैंकको वृहत् अवधारणालाई अघि सारेको बताए।
बैंकमा वैदेशिक रोजगारीबाट फर्के सबै श्रमिकको तथ्यांक संकलन गरिने श्रममन्त्री अर्यालको भनाई छ।
श्रममन्त्री अर्यालले निलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले संविधानले व्यवस्था गरेको संघीयताको बल्ल उचित कार्यान्वयन भएको समेत बताए ।
Leave a Reply