एजेन्सी । मुसलधारे वर्षाका कारण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छात खसेको छ ।
छत भत्किँदा ६ जना घाइते भएका छन् । छत सवारीसाधन र ट्याक्सीमाथि खस्दा केही मानिस दबेका थिए ।
घटनाबारे दिल्ली फायर डिपार्टमेन्टलाई जानकारी दिइएको थियो । फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए ।
छतको सिटबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।
आफूले स्थितिको व्यक्तिगत रूपमा निगरानी गरिरहेको र घाइतेहरूलाई अस्पताल पठाइएको नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै बताएका छन् ।
घटनापछि टर्मिनल १ बाट सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र सुरक्षाका कारण चेक इन काउन्टरहरू बन्द गरिएको छ ।
दिल्लीमा भारी वर्षापछि दिल्ली–एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसम विभागले बताएको छ ।
Leave a Reply