काठमाडौं । नेपाली सेनाभित्र लोकतन्त्र आएको छैन भनेर बेला बेलामा आवाज उठ्ने गरेको छ ।
पछिल्लो एक घटनाले त्यही देखाएको छ । उस्तै कसुरमा सेनाका कर्णेललाई हिरासतमा राखिएको छ भने एक रथीलाई भने सेनाको नेतृत्व सुम्पने तयारी भइरहेको छ ।
जन्ममिति सम्बन्धि विवादमा सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई सैनिक हिरासतमा राखेर छानविन भइरहेको छ । उनको नागरिकतासम्बन्धि कैफियत रहेको आरोप छ ।
अर्कातर्फ दुई थरी नागरिकता भएका र जन्ममिति कीर्ते गरेको आरोप खेपिरहेका रथी अशोक सिग्देललाई भने प्रधान सेनापति बनाउने तयारी भइरहेको छ । यो घटनाले नेपाली सेनाभित्र पहुँच हुनेहरुलाई कानूनले छुदैन र पहुँच नहुनेहरु सामान्य गल्तीमा पनि जागिर गुमाउँछन् भन्ने प्रष्ट भएको छ ।
सेनामा दुई महिनापछि नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अवकाश पाउँदैछन् । त्यसपछि रथी सिग्देललाई प्रधान सेनापति बनाउने चलखेल भइरहेको छ ।
जबकी सिग्देलविरुद्ध अख्तियारदेखि संसदको राज्य व्यवस्था समितिले समेत छानविन गरिरहेको छ । गृहमन्त्रालयदेखि राष्ट्रपति कार्यालयसम्म उनका कीर्ते प्रकरणका प्रमाणसहित उजुरी परेका छन् ।
तर,सबैतिर छानविन रोकाएर प्रधान सेनापति हुन सिग्देल दौडधुपमा लागेका छन् । प्रधान सेनापति नियुक्तिमा विगतमा यस्तो दौडधुप कहिल्यै हुने गरेको थिएन । सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा कीर्ते गरेर २०२३–१०–१९ बनाइएको उल्लेख छ ।
रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेको कागजपत्र बनाएर नागरिकताको प्रतिलिपि लिएका थिए ।
त्यसरी प्रतिलिपि बनाउँदा उमेर घटाइएको थियो । जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएको स्रोत बताउँछ रुपन्देहीका मान्छेले जाजरकोटमा गएर प्रतिलिपि बनाउनुमै गलत नियत प्रष्ट देखिन्छ ।
सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिएको छ ।
जून विषयमा गृह मन्त्रालयले समेत छानविन गरिरहेको छ । सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ । नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।
जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ । उनको नागरिकता नम्बर समेत फरक फरक छन् भने दुर्ई वटै नागरिकता प्रयोग गरिरहेका छन् । प्रथम प्रतिलिपिको नम्बर ११३१ रहेको छ । जुन नागरिकता राष्ट्रिय परिचयपत्र बनाउँदा प्रयोग भएको छैन ।
अर्कातर्फ विभिन्न कागजपत्रमा उनको जन्ममिति चार थरी भेटिएको छ । २०४० सालमा उनले उमेर १७ वर्ष भनेर नागरिकता लिएका थिए । त्यतीबेला जन्ममिति नराखी उमेर राख्ने चलन थियो । यस्तो अवस्थामा नागरिकता लिएको मितिकै आधारमा जन्ममिति तय हुन्छ । जसअनुसार उनको २०२३ साल असोज ९ गते जन्ममिति हुन्छ ।
त्यसको १८ वर्षपछि उनले जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकताको प्रतिलिपि निकालेका थिए । पहिलो नागरिकता हराएको भन्दै उनले सो प्रतिलिपि निकालेका हुन । जसमा पहिलो पटक नागरिकता लिएको मिति नै कीर्ते गरिएको छ ।
२०४०/०४/२९ मा पहिलोपटक नागरिकता लिइएको भनिएको छ तर जन्ममिति भने २०२३/१०/१९ उल्लेख गरिएको छ । रुपन्देहीको मान्छे जाजरकोटमा बसाई सरेर नागरिकता बनाउनु र जन्ममिति पनि हेरफेर हुनुले नियोजित भएको भन्दै हाल विभिन्न निकायले छानविन गरिरहेका छन् ।
उनका शैक्षिक प्रमाणपत्रहरूमा जन्ममिति १९ चैत २०२१ रहेको छ । पछि सरकारी ढड्डाहरुमै जन्ममिति सच्याएको प्रष्ट देखिन्छ । सेनाको भर्नामा उमेरहद कटेपछि यसरी उमेर नै सच्याइएको आशंका गरिएको छ ।
यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए । सिग्देलविरुद्ध पनि उजुरी परेकोमा तत्कालीन रक्षामन्त्री पूर्णबहादुर खड्काले सिग्देललाई जोगाएका थिए ।
अहिलेका रक्षामन्त्री हरि उप्रेतीले पनि सिग्देलको विवादबारे चासो राखेकोमा थप छानविन गर्दा सेना नै बदनाम हुने तर्क गरेर छानविन रोकाउने प्रयास भइरहेको छ । यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकोमा समेत भनसुन भइरहेको स्रोत बताउँछ ।
विवादास्पद व्यक्तिलाई गौरवशाली संगठनको नेतृत्व सुम्पदा आगामी दिनमा सेना नै ठूलो विवादमा पर्ने सैनिक अधिकारीको चिन्ता छ । अर्कातर्फ सिग्देल कार्यक्षमतामा समेत निकै कमजोर भएकाले पनि पछिल्ला वर्ष सुधारिएको सेनाको छवी झन् खस्कने जोखिम देखिएको छ ।
Leave a Reply