अछाम । अछामको साँफेबगर नगरपालिकाले इन्धनमा मनोमानी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै जारी गरेको वार्षिक प्रतिवेदनमा साँफेबगर नगरपालिकाले इन्धनमा झण्डै एक करोड खर्च गरेको पाइएको हो ।
इन्धनमा पालिकाले मनोमानी खर्च गरेको भेटिएपछि महालेखाले प्रश्नसमेत उठाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा यस गाउँपालिकाले ८८ लाख ६२ हजार ७९० रुपैयाँ इन्धनमा मात्रै खर्च गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सो नगरपालिकाले इन्धन पदाधिकारी शिर्षकबाट एक लाख एक हजार ४५५ रुपैयाँ, इन्धन कार्यालय प्रयोजन शिर्षकबाट ८७ लाख ६१ हजार ३३५ रुपैयाँ गरी जम्मा ८८ लाख ६२ हजार ७९० रुपैयाँ खर्च गरेको छ ।
प्रयोगकर्ता, प्रयोजन र भ्रमण किलोमिटर जस्ता व्यहोरा स्पष्ट खुलाई ईन्धन उपलब्ध गराउनु पर्नेमा सो बेगर तथा लगबुक तयार नगरी इन्धन खर्च गरेको पाइएको महालेखाको वार्षिक प्रतिवेदनमा भनिएको छ ।
‘पालिकाले यस्तो कार्यमा सुधार गरी ऐन, नियम बमोजिम ईन्धनको प्रयोग गर्ने तथा सोहि वमोजिम लगबुक व्यवस्थित गरी राख्ने तथा खर्च गर्दा मितव्ययीरुपमा गर्ने प्रवन्ध मिलाउनु पर्दछ,’ प्रतिवेदनमा उल्लेख छ ।
साथै आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा २४ (२) मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुने गरी मितव्ययी तरिकाले गर्नु पर्ने महालेखाको सुझाव छ ।
Leave a Reply