काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचना दोस्रो र तेस्रो तहका नेताहरुलाई पार्किङ गर्ने पार्किङ लट भएको बताएका छन् ।
नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले अहिलेको प्रदेश संरचना बेढंगको भएको टिप्पणी गरे ।
गृहमन्त्री लामिछानेले भने,‘त्यो बेढंगको छ, ढंगको बनाउनुपर्छ । त्यो दोस्रो, तेस्रो लेयरका राजनीतिक नेताहरुलाई पार्किङ गर्ने पार्किङ लट भएको छ । तेस्रो लेयरको नेतालाई कहिँ पठाउनुपर्यो भने तपाईं प्रदेशमा जानुस् भनेको छ, आज कोही मुख्यमन्त्री छ भन्यो भने भोलि अर्को भइसक्छ, मन्त्री को त हिसाब नै छैन ।’
नेपालको प्रदेश संरचनाले संघीयताको मर्मलाई नै बदनाम गरेको भन्दै गृहमन्त्री लामिछानेले त्यसलाई पुनर्निर्माण गर्नुपर्ने बताए ।
लामो राजनीतिक आन्दोलनमा सक्रिय भएका नेताहरुले प्रतिवद्धता भुलेका कारण आफूहरु राजनीतिमा आएको गृहमन्त्री लामिछानेले बताए ।
गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए ।
Leave a Reply