काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगीमा संलग्न जीबी राईलाई पक्राउ गर्न कस्ले रोक्यो भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले जीबीलाई सरकारले देशभन्दा पनि माथि राखेको आरोप लगाएका हुन् ।
राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले भ्रष्टाचारका फाइल खुल्छन् कि भनेर आफूहरु संसदमा हेरिरहेको बताए ।
उनले ठूला फाइल खोल्छौं भन्ने सरकारले राईलाई नेपाल देशभन्दा पनि माथि राखेको आरोप लगाए ।
सांसद शाहीले भने,‘ठूलो फाइल खोल्छौं खोल्छौ भन्नुहुन्छ । गिरीबन्धुको फाइल कहिले खोलिन्छ ? मेलम्ची र वाडडबडीजस्ता ठूला काण्डका फाइल कहिले खुल्छन् ? सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन् ? जिबी राईलाई किन पक्राउ गरिएको छैन ? छिटो पक्राउ गरियोस् । फाइल खोल्छु, आकाश र पातालमा खोजेर भए पनि ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । खोई खोजेको हो ?’
गृहमन्त्री रवि लामिछानेले केही समय आगडी सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने बताएका थिए ।
उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका थिए। तर अहिले सम्म पनि गृहमन्त्री लामिछानेले जीबीलाई पक्राउ गर्न सकेका छैनन् ।
सहकारी रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जिबी राईलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिन उनले आग्रह गरे ।
धेरै गृहमन्त्री फेरिएको तर, निर्मला पन्तको हत्यारा कारबाहीको दायरामा आउन नसकेको सांसद शाहीले बताए ।
Leave a Reply