Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • उद्योग मन्त्रीको ठाडो निर्देशनमा घरेलुकी निमित्त प्रमुख भट्टराईलाई काठमाडौं झिकाइयो

    उद्योग मन्त्रीको ठाडो निर्देशनमा घरेलुकी निमित्त प्रमुख भट्टराईलाई काठमाडौं झिकाइयो

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रकी निमित्त निर्देशक विष्णु फुयाँल भट्टराईलाई तत्काल आफ्नो कार्यकक्षमा उपस्थित हुन निर्देशन दिएका छन् ।

    प्रविधि हस्तान्तरणसम्बन्धी १२ करोडको बजेट कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढिसकेकोमा निमित्त निर्देशक भट्टराईले रोकेपछि मन्त्री भण्डारीले स्पष्टीकरण दिन निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ ।



    कपिलवस्तुमा आयोजित उद्यमशीलता विकास सम्बन्धी कार्यक्रमको समापन र रुपन्देहीको भैरहवामा केन्द्रको बजेटबाट सञ्चालित कार्यक्रमको अनुगमन गर्न भनेर आइतबार सो स्थानतर्फ प्रस्थान गरेकी भट्टराईलाई मन्त्री भण्डारीले मंगलबार बिहान फोन सम्पर्क गरी तत्काल काठमाडौं फर्कन निर्देशन दिएको स्रोतले थप बतायो ।



    सोमबार कपिलवस्तुको कार्यक्रममा सहभागी भएकी भट्टराई आज भैरहवामा आयोजित कार्यक्रममा सहभागी हुने कार्यसूची थियो । मन्त्रीको निर्देशन लगत्तै भट्टराई भैरहवाबाट विमानमार्फत काठमाडौं आउने तयारी गरिरहेको बुझिएको छ । भट्टराई काठमाडौं ओर्लिने बित्तिकै मन्त्री भण्डारीकोमा स्पष्टीकरणसहित उपस्थित हुने तयारी गरेको बुझिएको छ ।

    प्रविधि हस्तान्तरण कार्यक्रमका लागि केन्द्रले करिब ३ महिनाअघि नै प्रक्रिया अगाडि बढाएको थियो । जसअनुसार सयौँ उद्योगीहरूले आवेदन पेस गरेका छन् । तर, उक्त कार्यक्रम सञ्चालनका लागि कार्यान्वयनमा रहेको कार्यविधिअनुसार जसको संयोजकमा भट्टराई सदस्य रहेकी छन् भने संयोजक प्रविधि शाखाका उपसचिव अभित आचार्य थिए ।

    तर, आचार्यले पटक पटक बैठक राख्न खोज्दा पनि भट्टराईले कहिले बिरामीको बहाना कहिले धार्मिक यात्राको बहाना बनाएका कारण बैठक बस्न सकिरहेको थिएन । पछिल्लो समय भट्टराई आफैँलाई कार्यकारी बन्ने चाहना र संयोजक रहेका आचार्यलाई केन्द्र हुँदै मन्त्रालयबाटै सरुवा गरिएका कारण समिति नै अलपत्र बन्न पुगेको थियो ।

    जसका कारण उक्त कार्यक्रम अहिले कार्यान्वयन हुन नसक्ने अवस्थामा पुगेर १२ करोड बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । मन्त्रालय र केन्द्रका लागि प्रतिष्ठाको विषय बनेको उक्त कार्यक्रम कार्यान्वयन गर्न छाडेर भट्टराई भने अनुगमन र तालिमका नाममा देश भित्र र बाहिर व्यस्त रहेकी छन् ।

    उनी कोरियाको साताव्यापी भ्रमण सकेर जेठ २५ मा स्वदेश फर्केकी थिइन् । लगत्तै अनुगमनका नाममा काठमाडौं छाडेकी हुन् । सहसचिवको दरबन्दी रहेको उक्त केन्द्रमा निमित्त कार्यकारीका रूपमा उपसचिव भट्टराई कार्यरत छिन् ।

    निमित्तको जिम्मेवारी पाए लगत्तै कार्यकारी निर्देशकले प्रयोग गर्ने कार्यकक्षसमेत प्रयोग गरेर आफूलाई सहसचिवसरहकै हैसियत दिन खोजेकी छन् ।

    प्रधानमन्त्री नेपाल बाहिर जाँदा कार्यकारी अधिकार पाएका उपप्रधानमन्त्रीले प्रधानमन्त्रीकै कार्यकक्ष प्रयोग गर्ने चलन छैन भने प्रशासनिक संयन्त्रमा पनि एक तह मुनिकाले निमित्त पाउँदा कन्फर्म प्रमुखले प्रयोग गरेको अधिकार प्रयोग गरे पनि कार्यकक्ष र सुविधा भने प्रयोग गर्ने चलन रहेको छैन ।

    तर भट्टराईलाई भने प्रमुखले प्रयोग गरेको कार्यकक्ष प्रयोग गरेर राजनीतिक र प्रशासनिक प्रचलनलाई समेत चुनौती दिने काम भएको छ । अनलाइन नेपालले यसअघि पनि समाचारका विषयमा प्रतिक्रिया माग्दा भट्टराइले पछि सम्पर्क गर्ने भन्दै पन्छिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार