Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एयरपोर्टको १२ अर्ब भ्रष्टाचारमा अख्तियारले आँखा चिम्लिएपछि लेखा समितिले हात हाल्यो

    एयरपोर्टको १२ अर्ब भ्रष्टाचारमा अख्तियारले आँखा चिम्लिएपछि लेखा समितिले हात हाल्यो

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरबौं भ्रष्टाचारमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि कारवाही गर्न आनाकानी गरेपछि संसदको सार्वजनिक लेखा समितिले अब उनीमाथि छानविन अगाडि बढाउने भएको छ।

    पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अधिकारीमाथि ठुलो आर्थिक घोटाला गरेको आरोप लाग्दै आएको छ।



    आज बसेको लेखा समितिको  बैठकले विमानस्थल निर्माण भएको लामो समयसम्म पनि सञ्चालनमा नआएपछि वास्तविकता पत्ता लगाउन स्थलगत अध्ययन गर्ने निर्णय गरेको हो ।



    समितिको बैठकमा अरबौं रुपैयाँ लगानी भएका ती विमानस्थल सञ्चालनमा आउन नसकेको र निर्माणमा त्रुटीहरुसमेत रहेको पाइएको भन्दै सांसदहरुले कुरा उठाएका थिए ।

    समितिको निर्णयमा भनिएको छ, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नपश्चात् पनि सञ्चालनमा आउन नसकेको तथा निर्माण पक्षहरुमा त्रुटिहरुसमेत रहेको भन्ने सम्बन्धमा समितिले दुई टोली बनाई शीघ्र स्थलगत अध्ययन भ्रमण गर्ने ।’

    विमानस्थल निर्माणको क्रममा भएका अनियमितताबारे अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धानले छानविन थालेको झण्डै डेढ बर्ष हुँदा पनि उनी कारवाहीबाट जोगिंदै आउनुलाई रहस्यमय मानिएको छ।

    पोखरा, भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अरबौं भ्रष्टाचार गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म पनि अनुसन्धानलाई निचोडमा पुर्याउन सकेको छैन।

    १२ अर्बमा निर्माण हुने पोखरा विमानस्थलको लागत अस्वभाविक बढाएर २४ अर्ब पुर्याएका डीजी अधिकारीले अरबौं भ्रष्टाचार त गरे नै निर्माणमै त्रुटि देखिएका तथ्यहरु बाहिरिँदा समेत उनी अख्तियारबाट जोगिंदै आएका छन्। ।

    चीन सरकारको चर्को ब्याजमा ऋण लिएर बनाएको पोखरा विमानस्थलको निर्माणमै त्रुटि भएपछि संचालनमा आएको दुई बर्षसम्म अन्तर्राष्ट्रिय उडान नै हुन सकेको छैन ।

    पोखरा विमानस्थलको १२ अर्ब लागत बढाएर २४ अर्ब पुर्याए पनि निर्माणमा चरम लापरबाही भएकाले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान संचालनमा रुची देखाएका छैनन् ।

    पोखरा विमानस्थलबाट बोइङ–७३७ र न्यारोबडी जहाजले पूर्ण क्षमतामा उडान गर्न नसक्ने भएकाले पनि अन्तर्राष्ट्रिय उडान गर्न ब्यवसायिक हवाई कम्पनीहरुले रुची देखाउन सकेका छैनन् ।

    विमानस्थलको निर्माणमै त्रुटि नै त्रुटि भएकाले अन्तर्राष्ट्रिय उडान गर्न हवाई कम्पनीहरुले चासो नराखेको खुलेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ २ प्रतिशत ब्याजमा र २ अर्ब अनुदान गरी २४ अर्ब लागतमा निर्माण भएको पोखरा विमानस्थलको लागत अनुमान अस्वभाविक रुपमा बृद्धि गर्दा ठूलो आर्थिक चलखेल गरिएको बिषयलाई अख्तियारले गम्भीररुपमा नलिएपछि लेखा समितीले हात हाल्न लागेको वताइएको छ। ।

    आयोजना प्रमुख रहेका बेला अधिकारीले पोखरा विमानस्थलको ठेक्का सेटिङमा चिनियाँ कम्पनी सीएएमसी इन्जीनीयरीङ कम्पनीलाई दिएका थिए ।

    सीएएमसी इन्जीनीयरीङ कम्पनीसँग नेपाली ठेकेदार कम्पनी क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभीमा राख्ने चाँजोपाँजो पनि प्रदीप अधिकारीले नै मिलाएका थिए । प्रदीप अधिकारीको सेटिङमा क्षमादेवी कन्ष्ट्रक्सनलाई जेभी राखिएको थियो । क्षमादेवीका राजकुमार बस्नेतसँग अधिकारीको सेटिङ चल्दै आएको छ ।

    पोखरापछि प्राधिकरणका महानिर्देशक अधिकारीले केही महिनाअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको ४ अर्ब ७० करोडको ठेक्का पनि क्षमादेवीलाई नै दिएका थिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा ठूलो चलखेल गरी सेटिङमै दिएको बिषयमा पनि अख्तियारमा उजुरी छ ।

    विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी  परेपछि कागजात नियन्त्रणमा लिएर अधिकारीमाथि अख्तियारले पटक -पटक बयान लिए पनि राजनीतिक संरक्षणका कारण उनीमाथि अख्तियारले मुद्दा चलाउन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार