काठमाडौं । सहकारीको अर्बौं रकम अपचलन गरेको आरोपमा पक्राउ परेका कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सीबी लामालाई थुनामा पठाइएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेशले पूर्वअध्यक्ष लामालाई केन्द्रीय कारागारको थुनामा पठाइएको हो । लामालाई १८ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो ।
लामाविरूद्ध प्रहरीमा एक अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम ठगीको जाहेरी परेको छ । सहकारीको रकम अपचलन गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ ।
कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा अध्यक्ष भएर उनले अर्बौं रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि सिबीविरूद्ध ८५२ जनाले जाहेरी दिएका थिए।
जसमा बिगो रकम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रहेको प्रहरीले जनाएको छ। त्यसैगरी उनी अध्यक्ष रहेको पशुपति सहकारीमा पनि अन्दाजी १२ करोडको बिगो माग भएको प्रहरीले जनाएको छ।
गत वर्ष साउन १ गते समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाले निवेदन दिएका थिए। सो संस्थाका ११ सञ्चालकविरुद्ध वानेश्वर वृत्तले दुई महिनाअघि ठगी मुद्दा दायर गरेको थियो।
संस्थाका आठ सय ५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो।
२० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सीबी लामा फरार भएका थिए ।
Leave a Reply