काठमाडौं । नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबीच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्झौता भएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार छात्रवृत्ति प्रदान गर्नको लागि नेपाल बैंकले ३० लाख रुपैयाँ उपलब्ध गराई प्रहरी कल्याण कोषको नाममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुनेछ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रुपैयाँको चेक प्रहरी वरिष्ठ उपरीक्षक ढकाललाई हस्तान्तरण समेत गरेका थिए ।
खाता सञ्चालन तथा व्यवस्थापन कल्याण महाशाखाले गर्नेछ ।
अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानीबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल पुलिसका ९ वटा स्कुलहरूमा कक्षा ४ देखि १० सम्ममा अध्ययनरत बिदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई प्रदान गरिने छ ।
पूर्वप्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीका सन्ततिलाई उत्प्रेरणा स्वरूप प्रति स्कुल १ जनाको दरले छात्रवृत्ति उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौताको लागि नेपाल बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गरे।
प्रहरी महानिरीक्षक कुँवरले सम्झौता दुई निकायको सम्बन्धमा कोसेढुंगाको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै छात्रवृत्तिले नेपाल पुलिस स्कुलहरूमा अध्ययनरत बालबालिकालाई सबल र सक्षम बनाई देशको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने पनि बताए ।
उक्त अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टि प्राप्त भएको बताए ।
Leave a Reply