काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएको आरोप लगाएका छन्।
फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि मेयर बालेनले गिरिबन्धुको कर्तुत लुकाउन विषयान्तर गरिएको आरोप लगाएका छन् ।
मेयर बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन आग्रह गरे ।
उनले झापाको गिरीबन्धु टीस्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका छन् ।
मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, १० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ ” भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’
मेयर बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा काठमाडौं महानगरपालिकाले बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोप लगाए ।
काठमाडौं महानगपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउन सुरू गरेको थियो। काठमाडौं महानगरले क्षेत्राधिकारभन्दा बाहिर गएर सडक साँघुर्याउन थालेको भन्दै सडक डिभिजन काठमाडौंले दुई दिनभित्र पूर्वअवस्थामा फर्काउन भनेको थियो।
Leave a Reply