काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टका विषयमा प्रश्न गरेका छन् ।
कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले गृहमन्त्री लामिछानेको दोहोरो पासपोर्टको छानबिन किन अगाडि नबढेको भन्दै प्रश्न गरेका हुन् ।
महामन्त्री शर्माले दोहोरो पासपोर्टमा लामिछानेमाथि किन छानबिन नहुने भनेर प्रश्न गरे। उनले महान्यायाधिवक्ता कार्यालय रास्वपाको भातृ संस्थाजस्तो बनेको आरोप लगाए ।
महामन्त्री शर्माले भने, ‘बालुवाटारमा रेशमी पिँजडामा रहेका प्रधानमन्त्री प्रचण्डलाई पनि प्रश्न छ । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता छैन भन्यो । गृहमन्त्रीका दुई वटा पासपोर्टमा छानबिन गर्नुपर्दैन भन्यो ? के महान्यायाधिवक्ता कार्यालय रास्वपाको भातृ संगठन हो ?’
नागरिकतामाथि छानबिन भन्दै गर्दा गृहमन्त्रीको नागरिकता र पासपोर्टको मुद्दा किन छानबिन भएन भन्दै उनले आक्रोश पोखे ।
कांग्रेस महामन्त्री शर्माले रास्वपालाई पनि राजनीतिमा कस्तो प्रवृत्ति ल्याउन खोजेको हो ? भनेर प्रश्न गरे ।
सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर छानबिन हुनुपर्ने महामन्त्री शर्माले स्पष्ट पारे ।
सहकारी ठगीमा छानबिन गर्नका लागि बन्ने संसदीय समितिको कार्यादेशमा लामिछानेको नाम स्पष्टसँग लेख्नैपर्ने उनको भनाइ छ ।
Leave a Reply