काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ ।
महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम महानगरले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालिकालाई जानकारी गराउन निर्देशन दिएको हो ।
महानगरको शिक्षा विभागका अनुसार महानगरले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको थियो ।
तर उक्त आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो ।
सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन् भने ६ सय संस्थागत विद्यालय छन् ।
यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् ।
Leave a Reply