Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बजेटमा कृषि क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

    बजेटमा कृषि क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १० जेष्ठ २०८१
  • 363
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताएका छन् ।

    कोन्ज्योसोम गाउँपालिकाद्वारा आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् उनले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए ।



    उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे ।



    सरकारले अघिल्लो महिनामात्रै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त सम्मेलनमा ठोट्नेखोलाको पानी प्रयोग गरी उपत्यकावासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको बताए ।

    कोन्ज्योसोम गाउँपालिकाका केही वडालाई नयाँ सहरका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए ।

    उनले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटीखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी तीनवटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री प्रचण्डले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताए । उनले यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार