Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • उद्योग मन्त्रीको सनकका कारण १२ करोड बजेट फ्रिज हुँदै , ५ सय उद्योगीमाथि घोर अन्याय

    उद्योग मन्त्रीको सनकका कारण १२ करोड बजेट फ्रिज हुँदै , ५ सय उद्योगीमाथि घोर अन्याय

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । कार्यालयको प्रमुखसम्बन्धी विवादमा उद्योग मन्त्रालयले सुँढ घुसार्दा १२ करोड बजेट भएको प्रबिधि हस्तान्तरण कार्यक्रम अलपत्र पर्ने भएको छ ।

    साना स्वरोजगारमूलक उद्योगहरुलाई प्रबिधिमा सहयोग गर्ने उद्देश्यले सरकारले चालु आर्थिक बर्षको बजेटमा लघु घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रमा १२ करोड बजेट बजेट बिनियोजन गरेको थियो ।



    उक्त कार्यक्रमलाई देखाएर उद्योग मन्त्री र सचिवहरुले उद्योगीहरुका लागि मन्त्रालय सहयोगी छ भन्ने भाषण गर्ने गरेका थिए । तर त्यही कार्यक्रम अहिले मन्त्रालयले निम्त्याएको समस्याका कारण अलपत्र पर्ने भएको छ ।



    उद्योगमन्त्री दामोदर भण्डारीका निजी सचिव विवेक घिमिरेको इशारालाई सचिव कृष्णबहादुर राउतले हुबहु कार्यान्वयन गर्दा केन्द्रको कार्यालय प्रमुख विवादले उग्ररुप लिएको छ ।

    केन्द्रका प्रमुख तथा सहसचिव दीपक घिमिरेलाई काजमा मन्त्रालय तानियो । यतिले मात्र चित्त नबुझाएर केन्द्रका प्राबिधिक उपसचिव अमित आचार्यलाई समेत गतहप्ता मन्त्रालयमा काजमा झिकाइयो ।

    अहिले मन्त्रालयले त्यहाँ कार्यरत उपसचिव बिष्णु भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ ।

    मंगलबार मन्त्रालयले तेस्रो पत्र लेख्दै ‘सहसचिव घिमिरेको मन्त्रालयमा काजसरुवा भइसकेका कारण केन्द्रको बैंकखाता रोक्का गरिदिनू’ भन्ने परिपत्र कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गर्न समेत भ्याइसकेको छ ।

    अहिले मन्त्रालयका प्रशासन शाखाका कर्मचारीलाई दिनहुँजसो मन्त्रीका निजी सचिव घिमिरेको केन्द्रका नाममा आउने दबाबलाई कार्यान्वयन गर्न भ्याई नभ्याई छ । उपसचिव बिष्णु भट्टराईले बुधबार आफ्नो हस्ताक्षर चल्नेगरी बैंकखाता संचालनका लागि प्रक्रिया अगाडि बढाएकी छन् ।

    १ महिनादेखि केन्द्रमा मन्त्रालयको नांगो हस्तक्षेप भइरहेका कारण नियमित कामकारबाही पनि ठप्प हुन पुगेका छन् ।

    माथि उल्लेखित कार्यक्रम कार्यान्वयन हुन नसक्ने अवस्था निम्तनुमा पनि मन्त्रालयको सुशासन ऐन नियम बिपरीतको हस्तक्षेप र कनिष्ट उपसचिव भट्टराईको कार्यालय प्रमुख हुनैपर्ने लालसा भएको केन्द्रका कर्मचारी बताउँछन् ।

    प्रबिधि हस्तान्तरण कार्यक्रम संचालनका लागि केन्द्रले गएको पुस ३ गते नै गोरखापत्रमा सूचना जारी गरेको छ । सूचना अनुसार ५ सय आवेदकले उक्त कार्यक्रममा आवेदन दिएका छन् ।

    छनोट भएपछि बढीमा २० लाखसम्म प्रबिधि सहयोग उपलब्ध गराउने प्रक्रिया अगाडि बढिरहेको थियो । तर छनोट प्रक्रियामा अहिलेकै निमित्त कार्यालय प्रमुख भट्टराईको असहयोगले बिलम्ब हुन पुगेको थियो ।

    लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन तथा प्रबिधि हस्तान्तरण कार्यबिधि २०८० मा प्रबिधि हस्तान्तरण कार्यक्रम छनोटका लागि केन्द्रका प्राविधिक उपसचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल रहेको छ ।

    जस अनुसार संयोजकको भूमिका मन्त्रालयले हाल काजमा तानेका उपसचिव अमित आचार्यले गर्दैआएका थिए । सदस्यहरुमा विवाद निम्त्याउने उपसचिव भट्टराई, मन्त्रालयको तर्फबाट शाखा अधिकृत त्रिसान श्रेष्ठ र केन्द्रका लेखाअधिकृत बिक्की झा सदस्य थिए ।

    छनोटका लागि आचार्यले पटक पटक बैठक राख्दा भट्टराईले यो र त्यो बहानामा टार्दै असहयोग गर्दैआएका कारण बिलम्ब हुन पुगेको केन्द्रका कर्मचारी बताउँछन् ।

    केन्द्रको बजेटमा लामो समय काठमाडौं बाहिर भ्रमण कार्यक्रममा बिताएकी भट्टराई कार्यालयमा हाजिर भएलगत्तै निमित्त प्रमुख हुने लालसा पाल्दा अहिले उक्त कार्यालयको प्रशासनिक चेन नै अस्तब्यस्त हुन पुगेको छ ।

    प्राविधिक उपसचिव हुने कार्यबिधिको ब्यवस्था र सो पदमा कार्यरत आचार्यको काजसरुवा गरिएका कारण समिति नै नेतृत्वबिहीन हुन पुगेको छ ।

    जसका कारण सरकारको महत्वाकांक्षी कार्यक्रम यो आर्थिक बर्षमै कार्यान्वयन नहुने निश्चित देखिएको छ । एक कनिष्ट उपसचिवको निमित्त प्रमुख बन्नैपर्ने अहंकार र मन्त्रीका निजी सचिव घिमिरेको पूर्वाग्रहले १२ करोडको उद्योग प्रबद्र्धन मैत्री कार्यक्रम नै अलपत्र परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार