काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरूले विदेशीहरूसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् ।
राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए ।
परराष्ट्रमन्त्री श्रेष्ठले नेपालका नेताहरूले विदेशी भेट्दा परराष्ट्र मन्त्रालयको ब्रिफिङ नलिने गरेको र कुनै तयारी नगर्ने गरेको बताए ।
उनले विदेशी कूटनीतिक नियोगका मान्छेहरू वा राजनीतिक व्यक्तिहरूसँग भेट्दाखेरी परराष्ट्र मन्त्रालयलाई जानकारी दिनुपर्ने बताए ।
परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयको ब्रिफिङ लिएर र मन्त्रालयको कर्मचारीको उपस्थितिमा भेटघाट गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको कूटनीतिक आचारसंहिता पालनामा कमजोरी रहेको उल्लेख गरे ।
उनले कूटनीतिक आचारसंहिता, २०६८ पालना गरेर मात्रै भेटवार्ता गर्न आग्रह सहितको राजनीतिक दलहरूलाई पत्र पठाइएको जानकारी दिए ।
Leave a Reply