काठमाडौं । गोंगबुस्थित एक होटलमा एक युवतीको शव फेला परेको छ ।
गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।
गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन्। प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए ।
त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए । त्यसपछि पुगेको प्रहरीले उनलाई अस्पताल लगेको थियो ।
परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Leave a Reply