काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला राख्ने घोषणा गरेका छन् ।
नयाँ वर्षको अवसर पारेर एक कार्यक्रम आयोजना गरी गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
उनले काठमाडौं चलायमान सहर बनोस् भनेर त्यसको सुरूआत ठमेल र दरबारमार्गबाट गरिएको बताए।
गृहमन्त्री लामिछानेले भने,‘यो ऐतिहासिक सुरूआत हो, यसले सकारात्मक सन्देश दिन्छ। काठमाडौं चलायमान सहर बनोस् भनेर त्यसको सुरूआत दुई ठाउँबाट गरिएको हो। यहाँको अनुभवका आधारमा अन्य ठाउँ पनि खुला गर्नेछौं।’
यो अभियान सफल बनाउन उनले सबैलाई आग्रह गरे। यहाँका विकृति-विसंगति अन्त्यका लागि सामूहिक प्रयासको खाँचो समेत रहेको बताए।
संसारभर परिचित ठमेलको पहिचान थप स्थापित गर्न पनि सरकारले उक्त अभियान सुरू गरेको समेत गृहमन्त्री लामिछानेले बताए।
स्थानीयका जायज चासोको सम्बोधन गर्ने उनले बताए। नयाँ दल हुनुको परिचय कामबाटै दिने भन्दै उनले जतिसक्दो राम्रो काम गर्ने दाबी गरे।
Leave a Reply