काठमाडौं । दुई अर्ब भन्दा धेरै हिनामिना गरेको आरोप लागेका कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्व सञ्चालक चन्द्रबहादुर (सिबी) लामालाई पनि प्रहरीले नै भगाएको खुलेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीमाथि महिनौँ अनुसन्धान गरे पनि पछि प्रहरी वृत्त वानेश्वरलाई फाइल बुझाएको थियो ।
स्रोतका अनुसार सिआइबीले उनलाई सोधपुछ समेत गरेको थियो । जबकि त्यतीबेलासम्म सिआइबीमा जाहेरी दर्ता भइसकेको थियो । जसमा लामालाई थुनामा राख्नुपर्नेमा छाडेर भगाइएको स्रोत बताउँछ ।
एआइजी किरण बज्राचार्यकै कार्यकालमा यसरी कान्तिपुर सहकारीको ठगीको अनुसन्धानमा चलखेल भएको हो । लामा नेपाली कांग्रेसका नेता समेत हुन् । उनी हालसम्म फरार छन् । सो संस्थाका ११ सञ्चालकविरुद्ध वानेश्वर वृत्तले दुई महिनाअघि ठगी मुद्दा दायर गरेको छ ।
संस्थाका आठ सय ५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी मुद्दा दायर भएको हो । प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई मात्र पक्राउ गरेको छ ।
पूर्व अध्यक्ष सिबी लामासहित सञ्चालकहरू जोगलाल लामा, प्रेम ध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया फरार छन् । अध्यक्ष ठकुरीले पूर्व अध्यक्ष लामाले नै संस्थाको धेरै रकम हिनामिना गरेको बयानमा उल्लेख गरेका छन् ।
सो सहकारीलाई सहकारी विभागले गत २९ माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ । सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपैयाँ फसेको छ । थोरै बचतकर्ताले मात्र हाल प्रहरीमा जाहेरी दिएका छन् । कतिपयले जानकारी नपाएर अहिले उजुरी गरिरहेका छन् ।
पूर्व अध्यक्ष लामाले अस्पताल, रिसोर्ट तथा घरजग्गामा सञ्चालकले करोडौँ लगानी गरेका छन् । सिआइबीकै सहयोगमा उनले आफ्ना कतिपय निजी सम्पत्ति बेचेर विदेश लगेका छन् ।
‘जसरी सुन काण्डमा जीवन चलाउनेलाई जोगाइयो, त्यसै गरी सिबी लामालाई सिआइबीले जोगाएको उजुरी परेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।
सिआइबीले ठुला घटनाको अनुसन्धान आफैँ तानेर समेत हेर्दछ । तर, यती ठुलो ठगीको मुद्दा भने स्थानीय प्रहरीमा पठाउनु आफैँमा समेत शंकास्पद देखिएको छ । वानेश्वर वृत्तले निकै सतही अनुसन्धान गरेर मुद्दा बुझाएको थियो ।
सो संस्थाका पूर्व अध्यक्ष सिबी लामा सञ्चालक रहेको पशुपति सहकारीले पनि सर्वसाधारणको पैसा फिर्ता गर्न सकेको छैन । त्यसउपर पनि प्रहरीले छानबिन गरेको छैन ।
Leave a Reply