Online Nepal
  • बुधबार, १० पुष २०८१
  • उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित

    उपनिर्वाचन : नेतृत्व छान्न इलामका मतदाता उत्साहित

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 474
    SHARES

    फाइल तस्विर

    इलाम । इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    इलाम नगरपालिका–८ महमाईका कुबेर राईलाई उपनिर्वाचनको चहलपहलले उत्साहित बनाएको छ । “सात महिनादेखि हामीले चियाको मूल्य, दुग्ध उत्पादनको बजार, मेची राजमार्गको अस्तव्यस्त अवस्थालगायत समस्या संघीय संसदमा उठाउने जनप्रतिनिधि पाउन सकेका छैनौँ”, उनले भने, “हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।”



    सन्दकपुर गाउँपालिका–३ का विशाल ढकालले उपनिर्वाचनपछि सात महिनादेखि संकलन गरेर राखेका गुनासा नयाँ नेतृत्वलाई सुनाएर समाधान माग्ने बताए । “अहिले घरघरमा आएर सबै उमेदवार भोट माग्दै हुनुहुन्छ । हामी सबैलाई मत दिन्छौँ भनिरहेका छौँ । तर योग्य उमेदवारलाई इलामवासीले चुन्छन्,” उनले भने, “हाम्रा गुनासा र समस्याका चाङ छन् । समाधान गर्न निर्वाचित प्रतिनिधिलाई दबाब दिन्छौँ ।”



    फाकफोकथुम गाउँपालिका–४ का रघुनाथ भण्डारीले सडक, स्वास्थ्य, शिक्षा र कृषिमा परिवर्तन ल्याउन सक्ने उम्मेदवार छनोट गर्ने सोचमा रहेको बताए । “सडकको मर्मत छैन, कृषिमा अनुदान छैन, राम्रो अस्पताल र गुणस्तरीय शिक्षा पाउन सकेका छैनौँ । अब निर्वाचित हुने प्रतिनिधिले हाम्रा यी माग सम्बोधन गर्नुपर्छ ।”

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) का साझा उम्मेदवार सुहाङ नेम्बाङ, नेपाली कांंग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू चुनावी मैदानमा छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीका डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू र नेपाली जनता दलका रेशमबहादुर सुनुवार पनि चुनावी प्रतिस्पर्धामा छन् ।

    स्वतन्त्र उमेदवारहरु क्रमशः डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी भिडन्तमा सामेल हुनुहुन्छ । उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

    इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा ८९४ कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगका अनुसार यही चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उमेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारको अवधि तोकिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार