काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर सहकारी घोटाला प्रकरणमा छानबिन गर्नुपर्ने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बडूले गृहमन्त्रीमाथि छानबिन हुँदा लोकतन्त्र झन् सबल हुने दाबी गरेका हुन् । उनले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताए ।
सांसद बडुले भने, ‘सहकारी ठगी प्रकरणमा कति समातिए, कति फरार छन् । धेरै सहकारीमा राखिएको रकम अपचलन भएको छ । पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ । यसमा छानबिन भइरहेको छ भन्ने छ, यसको छानबिनका लागि उहाँले त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँं।’
सांसद बडुले यो व्यवस्थालाई जोगाउने अवसर पनि भएको बताए ।
गृहमन्त्री लामिछानेविरुद्ध कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी हालेका थिए ।
सोही उजुरी उपर छलफल गर्न आज समितिले गृहमन्त्री लामिछानेलाई बोलाएको थियो ।
Leave a Reply