काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरू बढी विवादरहित रहेको बताएका छन्।
शुक्रवारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन् ।
उनले न्याय सम्पादनमा आएका कमीहरु पुनः सच्याइएको उदाहरण रहेको भन्दै न्याय सम्पादन सधैँ सही नहुने बताए ।
उनले महिला न्यायाधीशहरुले गरेको न्याय सम्पादन न्यायको मर्मको गहिराइसम्म पुगेर न्याय दिनसक्ने ल्याकत सहितको हुने गरेको विगतबाट देखिएको बताए ।
कानुनमन्त्री गिरीले कानूनको अध्ययन गर्ने महिलाहरूको सङ्ख्या पनि उल्लेख्य रहेको बताए । उनले अध्ययन समयदेखि नै महिलाहरूलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताए ।
उनले पछिल्लो समय कानुन अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या बढेको भन्दै खुशी प्रकट गरे । उनले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरुलाई निश्चित रुपमा कार्यान्वयन गर्नका निम्ति र कानूनहरु निर्माण गर्नका निम्ति सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताए ।
कानुनमन्त्री गिरीले महिला न्यायाधीशहरूको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
Leave a Reply