काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेपछि प्रमुख प्रतिपक्ष कांग्रेसमाथि नै प्रश्न उठाएका छन् ।
अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर नपठाउने कांग्रेसले कुन आधारमा प्रश्न उठाएको भनेर लामिछानेले प्रश्न उठाएका हुन् ।
गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको बताए ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्न माग गरेका थिए ।
गृहमन्त्री लामिछानेले भने,‘एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन भन्ने कुरा नेपाली जनताले बुझेका छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो।’
संसद बैठक सकिएपछि उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले सामान्य उजुरीमा नै संसदीय छानबिन माग गरेर गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गरे ।
लामिछानेले आफ्नो कामले नै बोलिरहेकाले थप व्याख्या गर्न आवश्यक नभएको बताए ।
Leave a Reply