काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक नभएको दाबी गरे ।
अर्थमन्त्री पुनले भने,’कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक छैन । किनभने उहाँमाथि अभियोग लगाएर, अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कारबाहीका लागि सिफारिस गरेको विषय होइन । राजनीतिक रुपले सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि आक्रमण भएको छ ।’
राजनीतिमा समिकरण परिवर्तन भइरहने उल्लेख गर्दै अर्थमन्त्री पुनले जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक भूमिका खेल्नुपर्ने बताए ।
बेलाबखतमा आफूमाथि पनि नियोजित रुपमा आक्रमण हुने गरेको समेत उनले दाबी गरे।
माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका अर्थमन्त्री पुनले छिट्टै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् चल्न दिएर विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुनुपर्ने धारणा राखे ।
सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको बेला रास्वपा सभापति लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले राजीनामा माग गर्दै आएको छ ।
त्यसका साथै कांग्रेसले लामिछानेको नियुक्तिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा चित्तबुझ्दो जवाफ मागेको छ ।
Leave a Reply