कैलाली । सोमबार अपरान्ह सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मन्त्रीको शपथ खुवाउँदै थिए ।
तर चौधरीलाई मन्त्रीको शपथ धनगढीमा खुवाउँदै गर्दा उता काठमाडौंमा उनलाई हटाउने निर्णय संघीय मन्त्रिपरिषद् बैठकले गर्यो ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको सिफासिरमा नागरिक उन्मुक्तिबाट मन्त्री भएका चौधरीलाई प्रदेश प्रमुख जोशी शपथ ग्रहण गराउँदै थिए ।
गत फागुन २१ गते केन्द्रको सत्ता समीकरणमा हेरफेर भएसँगै प्रदेशमा पनि असर देखिन थालेको छ । मन्त्रीलाई शपथ गराइसक्नेबित्तिकै जोशीलाई हटाउन राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पत्र पठाइएको औपचारिक जानकारी सुदूरपश्चिममा पुगेको छ ।
उनीसँगै सरकारले सोमबार मधेसका हरिशंकर मिश्र र गण्डकीका पृथ्वीमान गुरुङलाई पनि हटाउन सरकारले सिफारिस गरेको छ। उनीहरू तीनैजना तत्कालीन गठबन्धन सरकारका बेला कांग्रेसको कोटामा नियुक्त भएका थिए ।
साथै नयाँ प्रदेश प्रमुखका रूपमा नेकपा एमालेनिकट तीन जनालाई सिफारिस गरिएको छ । मन्त्रिपरिषद्ले मधेश प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँको नाम राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरिएको बताइएको छ ।
Leave a Reply