काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पुनः गृहमन्त्री बनेपछि ठूला घटनाको अनुसन्धान कसरी अघि बढ्छ भन्नेमा धेरैको चासो छ । बाँसबारीको जग्गा हिनामिनादेखि सुन तस्करी घटनाको अनुसन्धानका फाइल प्रहरीमा पेन्डिङ अवस्थामा छन् ।
हाइप्रोफाइल जोडिएका मुद्दाको अनुसन्धानमा लामिछानेले चासो राखेर प्रहरी नेतृत्वबाट ब्रिफिङ लिइसकेका छन् । यीमध्ये सुन तस्करी घटनाको अनुसन्धानमा धेरैको चासो छ । किनकि यसअघि लामिछाने सो घटनाको अनुसन्धान प्रहरीले राम्रोसँग नगरेको र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही व्यक्तिहरूलाई जोगाएको भनेर पटक पटक आरोप लगाएका थिए ।
आफूले प्रमाण नै दिएका व्यक्तिलाई समेत जोगाइएको भनेर उनले संसदमै बोलेका थिए । सहसचिव झलकराम अधिकारी तथा जीवन चलाउनेलाई गृहमन्त्रीले नै जोगाएको भनेर यसअघि सार्वजनिक रूपमै बोलेका थिए । गिरोहका नाइके दावा लामाको माओवादीका नेताहरू तथा धेरै प्रहरी अधिकारीसँग समेत निकटतम सम्बन्ध देखिएको थियो ।
त्यससम्बन्धी प्रमाण नै आफूसँग रहेको भनेर लामिछानेले संसदमै बोलेका थिए । अब लामिछाने आफैँ गृहमन्त्री भएपछि सो घटनाको सिआइबीबाट अब थप अनुसन्धान हुने सम्भावना छ । जसमा माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुन, दीपेश पुन लगायत मुछिएका छन् ।
वर्षमान हाल अर्थमन्त्री भएकाले उनीविरुद्ध अनुसन्धान हुने सम्भावना न्यून छ । दावालाई सघाउने प्रहरी अधिकारीमाथि पनि अनुसन्धान हुन्छ कि हुँदैन भन्ने प्रतीक्षा छ । जस कारण विगतमा जोगिएकाहरू लामिछाने गृहमन्त्री भएसँगै आत्तिएका छन् । त्यस्तै, बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हिनामिनाको फाइल पनि सिआइबीमा पेन्डिङ छ ।
प्रहरीले अरुण चौधरी लगायतलाई पक्राउ गरे पनि अदालतको आदेशमा उनी जमानीमा छुटेका छन् । जून मुद्दाको अनुसन्धान अझै सकिएको छैन । जसमा विनोद चौधरी समेत मुछिएका छन् । विनोद चौधरीमाथि अनुसन्धान हुन सक्छ कि सक्दैन भन्नेले पनि लामिछानेको लागि परीक्षा छ ।
Leave a Reply