Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • ओली र रविसँगको नयाँ समीकरण पनि जोखिमपूर्ण : प्रचण्ड

    ओली र रविसँगको नयाँ समीकरण पनि जोखिमपूर्ण : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरण पनि जोखिमपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा नयाँ सत्ता समिकरणबारे जानकारी गराउँदै उनले कांग्रेससँग सम्बन्ध तोड्नुका कारणहरु पनि सुनाएका छन् ।

    नेपाली कांग्रेसको नेतृत्व र आफूबीच व्यक्तिगत अविश्वास पनि नभएको बताएका प्रचण्डले टिकिरहनु मात्रैलाई स्थायित्व मान्न नसकेर गठबन्धन तोडेको बताए । करिब एघार महिना साथ र सहकार्यप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आभार प्रकट गर्दै उनले राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुने बताए ।



    माओवादीले सघाए अनुसार कांग्रेसबाट सहयोग नपाएको गुनासो गरेका उनले भने–‘निर्वाचनमा माओवादी केन्द्रले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा सहयोग पाएन । यसले आपसी विश्वास कमजोर बनाएकै थियो ।’



    कांग्रेससँगको सम्बन्ध तोडिनुका कारणहरु सुनाउँदै प्रचण्डले गत आम निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट कांग्रेस नेतृत्व पछि हटेको र कोशी प्रदेशमा कांग्रेसको एउटा समूहले विद्रोह नै गरेको स्मरण गराए ।

    प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धको विषयमा महासमितिमा प्रस्तुत प्रतिवेदनको सन्दर्भलाई समेत कांग्रेससँगको गठबन्धन छाड्नुपरेको बताएका छन् । ‘महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो’ प्रचण्डले भने ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धनमा रहेर काम गर्दा केही घटकबाट अपेक्षित साथ नपाएको कारण पनि दिएका छन् । प्रचण्डले भनेका छन्–‘सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेका होइनौं तर म तीव्रता चाहन्थेँ । औसत उपलब्धिहरूको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा म थिइनँ र छैन ।’

    अपेक्षित सहयोग नपाएपछि आफ्नासामु दुई विकल्प रहेको र एउटा विकल्प रोजेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले भने–‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजें ।

    यद्यपी उनले नयाँ समीकरण पनि जोखिमपूर्ण रहेको बोध भएको उनले बताए । उनले भने–‘नयाँ समीकरण कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणाममुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार