काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशले आत्मसमर्पण गरेका छन् । एक साताअघि उनले आत्मसमर्पण गरेको खुलेको प्रहरी स्राेतकाे भनाइ छ। उनी डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका हुन्। कारागारका एक अधिकृतले अहिले नरेश अहिले कारागारमा रहेको पुष्टि गरेका छन् ।
जिल्ला अदालत, काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न गरेको आदेश उच्च अदालत, पाटनले माघ तेस्रो साता बदर गरेको थियो । आदेश बदरपछि फरार रहेका उनी केही सातापछि आत्मसमर्पण गरेका हुन्।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई थुनामा राख्न आदेश गरेको थियो । अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो ।
हाल केन्द्रीय कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेश पक्राउ परेका थिए । निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जोहरी दिएपछि ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।
जिल्लाले नरेशविरुद्ध स्पष्ट प्रमाण अभाव भएको भन्दै धरौटीमा छाड्न र अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, शैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो । यद्यपि, उच्चले नरेशलाई मात्र छाड्नुको कारणमाथि टेकेर थुनामा पठाउन आदेश दिएको थियो ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग नरेशको फोन सम्पर्क र भेटघाटपछि उनी विवादमा आएका थिए।
फरार हुँदै आएका नरेशले गत सोमबार आफैं कारागारमा आत्मसमर्पण गरेको जानकारी डल्लीबजार कारागारले जनाएको छ।
Leave a Reply