काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यापारीहरुलाई दशैं–तिहारमा नेता र कर्मचारीका घरमा रक्सी पुर्याउने काम बन्द गर्न आग्रह गरेका छन्।
बिहीवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले व्यापारीले राज्यलाई कर तिरेपनि उनीहरू नेतासँगको सम्बन्धका कारण सम्मानित बन्न नसकेको बताए ।
सभापति लामिछानेले भने,‘विश्वमा अन्य देशमा ट्याक्सपेयरलाई सम्मानित नागरिकको रुपमा हेरिन्छ । तर नेपालमा नेतासँगको कनेक्सनका कारण व्यापारीलाई शंकाले हेरिन्छ । तपाईंहरूले दशैं–तिहारमा नेता–कर्मचारीको घरमा उपहार लैजान छाड्नु पर्यो । यो विषयमा खुलेर डिस्कस नगरे निजी क्षेत्रले मुक्ति पाउँदैन।’
सभापति लामिछानेले व्यापारीले नेता र कर्मचारीको घरमा उपहार पुर्याउने काम रोक्नु पर्ने बताए।
सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागका अधिकारीलाई बोलाइएको बैठकमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका प्रमुखलाई पनि बोलाइएको थियो।
सभापति लामिछानेले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत लगेपछि दुवै निकायको उपादेयता समाप्त भएको टिप्पणी गरे।
Leave a Reply