काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाकी तत्कालीन उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उपप्रमुख सौमति रावल ऐडीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजनामा अनियमितता गरेको आयोगले आरोप पत्रमा उल्लेख गरेको छ।
इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दीपक नेपालीसमेतलाई आयोगले प्रतिवादी बनाएको छ ।
ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरेको अभियोगपत्रमा उल्लेख छ ।
झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार ३५८ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्याएको अभियोगपत्रमा उल्लेख छ ।
त्यसै गरी उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरुद्ध पनि ४२ लाख २९ हजार ३५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Leave a Reply