काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संविधान संशोधन गरेर गठबन्धनका नेतालाई कानुन नलाग्ने व्यवस्था गनुपर्ने भन्दै व्यंग्य गरेका छन् ।
शुक्रबार प्रतिनिधि भा बैठकमा बोल्दै सांसद सिंहले यस्तो टिप्पणी गरेका हुन् । सांसद सिंहले ठुला दलका नेताहरूले देशको कानुन उल्लङ्घन गरिरहेको बताए ।
सांसद सिंहले सत्तामा रहेका गठबन्धन दलका नेतालाई कानुन नलाग्ने हो भने संविधान नै संशोधन गरेर यो व्यवस्था थप्न माग गरे ।
सांसद सिंहले भने,‘नियम कानुन बनाउने तर ठुलालाई नलगाउने हो भने भनौँ कि संविधान संशोधन गरेर जो सत्तामा हुन्छन्, सत्ता गठबन्धनका ठुला मान्छेलाई नियम कानुन लाग्दैन ।’
राज्यव्यवस्था तथा सुशासन समितिले पनि यो विषय नउठाएको सांसद सिंहले गुनासो गरे ।
उनले सामाजिक सुधार व्यवस्था ऐन २०३३ मा दुलहा दुलहीको भोजमा आफन्त सहित ५१ जना भन्दा बढी सहभागी बन्न नपाउने व्यवस्था रहेको तर प्रधानमन्त्री प्रचण्डको नातिनी र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको छोराको बिहेमा आर्मी अफिसर्स क्लबमा भएको बिहे भोजमा हजारौँ सहभागी भएको बताए ।
उनले तराई क्षेत्रमा बिहे भोज गर्नुपर्दा जनताहरू ऋण लिएर मिटरब्याजको पासोमा परेको बताउँदै ठुलाले नियम पालना नगर्दा समस्या भएको बताए ।
उनले मिटरब्याजी सरकारले नै संरक्षण गरेर बनाएको बताए । मिटरब्याजीले राजनीतिक दललाई पैसा दिने र उनीहरूबाट संरक्षण पाउने गरेको सांसद सिंहको भनाई छ ।
Leave a Reply