काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन हुम्लास्थित चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चंखेली गाउँपालिका–३ मिमीमा वडा कार्यालय फिल्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
फिल्ड निर्माण योजनामा ११ लाख ९४ हजार चार सय २६ रुपैयाँ ८ पैसा अनियमितता गरेको अभियोग आयोगको छ । वडाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढाले आर्थिक वर्ष २०७४/०७५ मा संचालित चंखेली गाउँपालिका, वडा नं. ३ स्थित मिमी वडा कार्यालयको फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक भए गरेको कार्य भन्दा बढी मूल्याङ्कन गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
उनीहरूले नापी किताबमा चढाएर निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरेर ११ लाख ९४ हजार चार सय २६ रुपैयाँ आठ पैसा भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
उनीहरुविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा मुद्दा दर्ता गरेको हो । कसुर प्रमाणित भएमा उनीहरूले बिगो जरिवाना र कैद सजाय भोग्नुपर्ने छ ।
आयोगले तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मान बहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाले फिल्डको वास्तविक निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको मूल्याङ्कन गराई वास्तविक रूपमा भएको कार्यभन्दा बढीको भुक्तानी माग गरी लिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।
त्यस्तै चंखेली गाउँपालिकाको –३ का वडाध्यक्ष सालिग्राम ऐडीले हुँदै नभएको कार्यलाई समेत भए गरेको भनी सिफारिस तथा प्रतिवेदनसमेत दिएर वैधता दिएको पाइएपछि उनीविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।
Leave a Reply